
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा प्रतिनिधिसभा सदस्य मनिष झाले सञ्चारगृह र अन्य सार्वजनिक स्थान वरिपरि अव्यवस्थित रूपमा गाडी पार्किङ गरेर त्रास फैलाउने घटनाको निष्पक्ष छानबिन गर्न र दोषीमाथि कानुनी कारबाही गर्न सरकारसँग माग गरेका छन्।
सोमबार केही सञ्चारमाध्यमका कार्यालय आसपास शंकास्पद ढंगले गाडी पार्किङ गरिएपछि सर्वसाधारण र सञ्चारकर्मीमा डर र अन्योलको अवस्था सिर्जना भएको थियो। यही घटनाप्रति प्रतिक्रिया दिँदै मनिष झाले बुधबार बिहान सामाजिक सञ्जालमार्फत यस्तो गतिविधि गलत र अस्वीकार्य भएको बताएका हुन्।
उनले सञ्चारगृह वा अन्य कुनै स्थानमा जानाजानी गाडी राखेर अवरोध गर्ने वा त्रास फैलाउने काम लोकतान्त्रिक समाजका लागि उचित नभएको उल्लेख गरेका छन्। घटनामा जो–जो संलग्न छन्, उनीहरूको पहिचान गरी निष्पक्ष अनुसन्धान गरेर कानुनअनुसार कारबाही गर्नुपर्ने उनको भनाइ छ।
झाले राज्यको जिम्मेवारी नागरिकलाई सुरक्षित महसुस गराउनु भएको भन्दै, उल्टै डर र असुरक्षा बढाउने काम गर्नु उचित नभएको बताए। उनले यस्ता स्तरहीन र गैरजिम्मेवार गतिविधिप्रति कडा आपत्ति जनाउँदै जिम्मेवार निकायले तत्काल आवश्यक कदम चाल्नुपर्नेमा जोड दिएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे