
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले असार १६ र १७ गते पूर्वी तराईसहित देशका विभिन्न ठाउँमा भारीदेखि धेरै भारी वर्षा हुने पूर्वानुमान गरेपछि जिल्ला प्रशासन कार्यालय झापाले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
प्रशासनले मेघगर्जन, चट्याङ र ठूलो वर्षाका कारण बाढी तथा डुबानको जोखिम बढ्न सक्ने भएकाले नदी किनार र होचा स्थानमा बस्ने नागरिकलाई विशेष सावधानी अपनाउन भनेको छ। साथै, खोला–खहरे तर्न वा बाढी आउने सम्भावना भएका बाटोबाट यात्रा नगर्न अनुरोध गरिएको छ।
झापाका कनकाई, बिरिङ, रतुवा, मेची, मावा र निन्दा नदी आसपासका क्षेत्र बढी जोखिममा छन्। विशेषगरी गौरीगञ्ज, कचनकवल, बाह्रदशी, झापा, कमल, शिवसताक्षी र भद्रपुर क्षेत्र बाढीबाट प्रभावित हुन सक्ने प्रशासनले जनाएको छ।
सम्भावित विपद्का लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, रेडक्रस र स्थानीय तहलाई राहत सामग्रीसहित तयारी अवस्थामा राखिएको छ। रेडक्रसका अनुसार जिल्लामा ८ हजारभन्दा बढी घरधुरी उच्च जोखिममा छन्। त्यसैले स्वयंसेवक, उद्धार टोली र राहत सामग्री विभिन्न स्थानमा तयारी अवस्थामा राखिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे