
काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत राउण्ड अफ ३२ का थप तीन खेल सम्पन्न हुँदा पाराग्वे, ब्राजिल र मोरक्को अन्तिम १६ मा प्रवेश गरेका छन्। प्रतियोगिताको १९औँ खेलदिवसमा जर्मनी अप्रत्याशित रूपमा बाहिरिँदा पाँच पटकको विश्वविजेता ब्राजिलले जापानलाई इन्जुरी समयमा पराजित गर्दै कठिन जित निकालेको छ।
दिनको सबैभन्दा ठूलो उलटफेरमा पाराग्वेले जर्मनीलाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गर्यो। निर्धारित ९० मिनेट र अतिरिक्त समयमा खेल १–१ को बराबरीमा सकिएपछि निर्णय पेनाल्टीमार्फत भएको थियो।
पाराग्वेका लागि पहिलो हाफको अन्त्यतिर जुलियो एन्सिसोले हेडमार्फत अग्रता दिलाएका थिए। दोस्रो हाफमा काइ हाभर्ट्जले बराबरी गोल फर्काए पनि त्यसपछि दुवै टोलीले थप गोल गर्न सकेनन्। पेनाल्टी सुटआउटमा पाराग्वेका गोलरक्षक ओर्लान्डो गिल नायक बने। उनले दुई पेनाल्टी बचाउनुका साथै जर्मनीका जोनाथन टाहले निर्णायक पेनाल्टी पोस्टमाथि प्रहार गरेपछि होजे कानालेले विजयी पेनाल्टी गोल गर्दै पाराग्वेलाई ऐतिहासिक जित दिलाए। अब पाराग्वेले अन्तिम १६ मा फ्रान्स र स्विडेनबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।
अर्को खेलमा ब्राजिलले जापानलाई २–१ ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनायो। पहिलो हाफमा जापानका काइशु सानोले बल खोसेर एकल प्रयासमा उत्कृष्ट गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। दोस्रो हाफमा ब्राजिलले खेलमा पुनरागमन गर्यो। ५६औँ मिनेटमा कासेमिरोले गाब्रिएल मगल्हाएसको क्रसलाई हेडमार्फत गोलमा परिणत गर्दै बराबरी गरे।
खेल अतिरिक्त समयमा प्रवेश गर्ने संकेत देखिएको अवस्थामा इन्जुरी समयको पाँचौँ मिनेटमा ब्रुनो गुइमाराइसको पासमा गाब्रिएल मार्टिनेलीले निर्णायक गोल गर्दै ब्राजिललाई रोमाञ्चक जित दिलाए। अब ब्राजिलले अन्तिम १६ मा आइभरी कोस्ट र नर्वेबीचको विजेतासँग खेल्नेछ।
तेस्रो खेलमा मोरक्कोले नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा ३–२ ले पराजित गर्दै अर्को चरणमा प्रवेश गर्यो। निर्धारित समयको ७२औँ मिनेटमा कोडी गाक्पोले गोल गर्दै नेदरल्यान्ड्सलाई अग्रता दिलाएका थिए। तर इन्जुरी समयको पहिलो मिनेटमा दियोपले नजिकबाट गोल गर्दै मोरक्कोलाई खेलमा फर्काए र खेल अतिरिक्त समयमा धकेलियो।
पेनाल्टी सुटआउटमा दुवै टोलीले अवसर गुमाए पनि मोरक्कोका इस्माइल सैबारीले निर्णायक पेनाल्टी सफलतापूर्वक प्रहार गरे। गोलरक्षक यासिन बोनुले उत्कृष्ट प्रदर्शन गर्दै मोरक्कोलाई अन्तिम १६ मा पुर्याए। अब मोरक्कोले अन्तिम १६ मा क्यानडासँग प्रतिस्पर्धा गर्नेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे