
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पाँचदिने भारत भ्रमणका लागि नयाँदिल्ली पुगेका छन्। भारतीय जनता पार्टीको निमन्त्रणामा भारत भ्रमणमा गएका लामिछानेलाई नयाँदिल्लीस्थित विमानस्थलमा भारतीय जनता पार्टीका वरिष्ठ नेताहरूले स्वागत गरेका छन्।
रास्वपाका अनुसार भारत आगमनपछि लामिछानेलाई अरुण सिंह र विजय चौथाइवाले ले विमानस्थलमा स्वागत गरेका हुन्। भ्रमण टोलीमा विपिनकुमार आचार्य, दीपक बोहोरा, निकिता पौडेल र प्रदीप आचार्य पनि सहभागी रहेका छन्।
रास्वपाका प्रवक्ता मनिष झा का अनुसार भ्रमण जेठ १८ गतेदेखि २२ गतेसम्म चल्नेछ। भ्रमणका क्रममा नयाँदिल्लीमा विभिन्न उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटवार्ताको कार्यसूची तय गरिएको छ।
कार्यक्रमअनुसार लामिछानेले भारतीय जनता पार्टीका शीर्ष नेतृत्वसँग भेटघाट तथा छलफल गर्नेछन्। साथै भारतमा रहेका नेपाली समुदाय, पार्टीका शुभेच्छुक तथा विभिन्न सरोकारवालासँग पनि अन्तरक्रिया गर्ने कार्यक्रम रहेको जनाइएको छ।
भ्रमण तालिकामा अयोध्या भ्रमणसमेत समावेश गरिएको रास्वपाले जनाएको छ। पार्टीका अनुसार भ्रमणसम्बन्धी भेटघाट तथा अन्य कार्यक्रमको समन्वय नयाँदिल्लीस्थित नेपाली दूतावास ले गरिरहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे