
काठमाडौँ, २० जेठ । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले नेपाललाई इन्धन र एलपी ग्यास मुक्त गर्ने अभियान थाल्नुपर्ने बताएका छन् ।
मूल्यवृद्धि नियन्त्रणको माग गर्दै एमालेले प्रतिनिधिसभामा पेश गरेको सार्वजनिक महत्व माथिको प्रस्तावमा छलफलको क्रममा सांसद थापाले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिबाट बच्न पेट्रोल, डिजेल र एलपीजी ग्यास मुक्त नेपाल बनाउन लाग्नुपर्ने बताएका हुन्।
त्यसको लागि आजबाट नै सरकारले काम गर्नुपर्ने उनको तर्क थियो। आयातको सबैभन्दा ठूलो व्यापार घाटा पेट्रोलियम पदार्थ भएकोले मुक्त गराउनु लाग्नु पर्ने उनको जोड छ ।
संसदमा बोल्दै थापाले भने– ‘हामीसँग अनेक विकल्प छन् । त्यसमध्ये विद्युत महत्वपूर्ण विकल्प हो । त्यसैले इन्धन र ग्यासमा होइन विद्युतमा जोड गरौं । आजैबाट इन्धन र ग्यासमुक्त अभियान थालौं ।’
इन्धन र ग्यासको मूल्य घटाउन कर घटाउने तत्कालीन समाधान भए पनि कुनै न कुनै रुपमा कर जोडिने भएकाले कर घटाएर समस्याको समाधान नहुने उनको धारणा रहेको छ ।
उहाँले पेट्रोलियम पदार्थको भण्डारण क्षमता बढाउने काममा पनि ध्यान दिन सरकारसँग आग्रह गर्नुभयो ।
‘हाम्रो स्टोरेज ६ महिनाको होइन, ८/१० दिनको मात्रै छ, हामीले स्टोरेज क्यासिटी बढाउनैपर्छ,’ उहाँले थप्नुभयो, ‘कच्चा तेल ल्याएर रिफाइन गर्ने विकल्पबारे पनि सोचौं, माननीय मन्त्रीज्यूलाई आग्रह गर्न चाहन्छु–पेट्रोलियम ऐन चाहियो, त्यसले बाटो देखाउँछ ।’
महामन्त्री थापाले पेट्रोलियम पदार्थमा देखिएको समस्या समाधानका लागि तत्काल पेट्रोलियम पदार्थ ऐन ल्याउन पनि सरकारलाई सचेत गराउनुभयो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे