
काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालको भूमिकाप्रति असन्तुष्टि जनाएको छ। बुधबार संसद् बैठकमा कांग्रेस सांसद चन्द्रमोहन यादवले सभामुखले निष्पक्ष भूमिका निर्वाह गर्न नसकेको आरोप लगाए।
उनले सभामुख अर्याल अझै पनि आफू आबद्ध रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग निकट रहेको जस्तो देखिएको टिप्पणी गरे। यादवका अनुसार सीमासम्बन्धी विषयमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिप्रति विपक्षी दलहरूले लगातार विरोध गरिरहे पनि सभामुखले त्यसतर्फ पर्याप्त ध्यान नदिएको देखिएको छ।
उनले सभामुखले सबै सांसदका अभिभावकको भूमिका निभाउँदै संसद्को गरिमा र विश्वास कायम गर्नुपर्ने बताए। यादवको अभिव्यक्तिपछि रास्वपाका सांसद गणेश कार्कीले नियमापत्ति जनाएका थिए।
त्यसपछि सभामुख अर्यालले सांसद यादवको भनाइप्रति आफ्नो ध्यानाकर्षण भएको बताउँदै संसद्को नियमावलीको पालना गर्न आग्रह गरे। प्रधानमन्त्रीको विवादित अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउनुपर्ने माग गर्दै कांग्रेससहित विपक्षी दलहरूले निरन्तर विरोध गरिरहेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे