काठमाण्डौँ, ११ बैशाख । आज देशभर १६ औँ लोकतन्त्र दिवस विविध कार्यक्रम गरी मनाइँदै छ । जनताको भीषण आन्दोलनले निरंकुश राजतन्त्रलाई घुँडा टेकाएको यो दिनलाई लोकतन्त्र दिवसका रुपमा मनाउँदै आइएको छ ।
विसं २०६२/ ६३ को आन्दोलन २०६३ साल वैशाख ११ गते संसद् पुनःस्थापना भएपछि सम्पन्न भएको थियो । नेपालमा दश वर्षसम्म सशस्त्र सङ्घर्षरत माओवादीलाई पनि शान्तिपूर्ण आन्दोलनमा ल्याउने आधारका रूपमा रहेको सो आन्दोलनलाई नेपालको राजनीतिक यात्रामा अत्यन्त महत्वपूर्ण रूपमा लिइन्छ ।
यसैका जगमा तत्कालीन नेकपा (माआवादी) र सरकारबीच विस्तृत शान्ति सम्झौता सम्पन्न भई जारी गरिएको नेपालको अन्तरिम संविधान २०६३ र नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यको घोषणा गरिएको थियो ।
नेपाली काँग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा भएको आन्दोलनमा लाखौँ मानिस सडकमा उत्रिएपछि २०६३ सालमा आजैका दिन संसद् पुनःस्थापनासहित जनताले अधिकार पाएका थिए । यसैले यस दिनलाई लोकतन्त्र दिवसका रुपमा मनाउने गरिएको छ ।
लोकतन्त्र स्थापना भएपछि त्यसै वर्ष ४ जेठ बसेको प्रतिनिधिसभाको बैठकले राजतन्त्र निलम्बनसहित महत्वपूर्ण ऐतिहासिक घोषणा गरेको थियो । यही घोषणाबमोजिम पहिलोपटक २०६४ चैत २८ गते पहिलो संविधानसभाको निर्वाचन भयो ।
संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपालमा २४० वर्षे राजतन्त्रको अन्त्य गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गर्यो ।
पहिलो संविधानसभाले संविधान बनाउन नसके पनि दोस्रो संविधानसभाबाट २०७२ असोज ३ गते संविधान जारी भएर कार्यान्वयनको क्रममा छ । ११ वैशाखपछि नै यो राजनीतिक विकास भएकाले प्रत्येक वर्ष यस दिन लोकतन्त्र दिवसका रुपमा स्मरण गरिन्छ ।
संविधानसभाको २०६५ साल जेठ १५ गतेको बैठकले नेपालमा राजतन्त्र अन्त्य भएको घोषणा गर्दै नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक देश बनाएको थियो । दोस्रो जनआन्दोलनले सङ्घीयता, समावेशिता, समानुपातिक प्रतिनिधित्व, धर्मनिरपेक्षताजस्ता नेपालको मौलिक विशेषतासहितको प्रणालीलाई स्थापित गरेको छ ।
राज्यका हरेक तहमा ३३ प्रतिशत महिलाको सहभागितालाई सुनिश्चित गरेको छ । पछाडि पारिएका वर्ग, क्षेत्र, तह तथा तप्कालाई राज्यको मुल प्रवाहमा ल्याइएको छ । सात प्रदेश र अधिकार सम्पन्न ७५३ पालिकामार्फत जनताले गाउँमै सिंहदरबार पाउने सेवा तथा सुविधा पाएका छन् । राजाबाट खोसेर नागरिक आफैंले निर्माण सुरु गरेको नयाँ नेपालको खाका बन्दै गरे पनि नागरिकका अपेक्षा सबै पूरा हुन सकेका छैनन् ।
दलोकतान्त्रिक जनआन्दोलनको सफलताका लागि जनताका तर्फबाट धेरै बलिदानी गरिए पनि देशमा जारी अस्थिरताले सबैलाई चिन्तित बनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे