
एजेन्सी। फिफा विश्वकपको छैटौँ दिन ठूला टोलीहरूको प्रभावशाली प्रदर्शनसँगै रोमाञ्चक बनेको छ। डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले कप्तान लियोनेल मेस्सीको ऐतिहासिक प्रदर्शनमा जित निकाल्दा फ्रान्स र नर्वेले पनि प्रतियोगिताको सुरुआत विजयी रूपमा गरेका छन्।
(मेस्सी १७’, ६०’, ७६’)
विश्वकप उपाधि रक्षा अभियान थालेको अर्जेन्टिनाले अल्जेरियामाथि ३–० को सहज जित हात पारेको छ। कप्तान लियोनेल मेस्सीले विश्वकप इतिहासमै पहिलो ह्याट्रिक गर्दै टोलीलाई विजयी सुरुआत दिलाएका हुन्।
मेस्सीले १७औँ मिनेटमा उत्कृष्ट लामो दूरीको प्रहारमार्फत गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए। दोस्रो हाफमा उनले अर्को गोल थपे भने ७६औँ मिनेटमा उत्कृष्ट कर्लिङ प्रहार गर्दै ह्याट्रिक पूरा गरे।
यससँगै मेस्सीको विश्वकप गोल संख्या १६ पुगेको छ। उनी सर्वाधिक विश्वकप गोलकर्ताको सूचीमा जर्मनीका मिरोस्लाभ क्लोससँग बराबरीमा पुगेका छन्। साथै अर्जेन्टिनाका लागि २००औँ खेल खेल्दै उनी ६ वटा विश्वकप खेल्ने पहिलो खेलाडी बनेका छन्।
विश्वकपमा लामो समयपछि फर्किएको नर्वेले इराकलाई ४–१ गोलअन्तरले पराजित गर्दै प्रभावशाली सुरुआत गरेको छ।
एर्लिङ हालान्डले पहिलो हाफमै दुई गोल गर्दै नर्वेको जितको आधार तयार गरे। इराकका अयमन हुसेनले उत्कृष्ट हेडरमार्फत बराबरी गोल गरे पनि नर्वेको आक्रमण रोक्न सकेनन्।
दोस्रो हाफमा लियो ओस्टिगार्ड र क्रिस्टियन थोर्स्टभेटले थप गोल गर्दै नर्वेलाई सहज जित दिलाए। जितसँगै नर्वे समूहको शीर्ष स्थानमा पुगेको छ।
सन् २०१८ को विश्वकप विजेता तथा २०२२ को उपविजेता फ्रान्सले सेनेगललाई ३–१ ले हराउँदै विजयी सुरुआत गरेको छ।
पहिलो हाफमा सेनेगलले दबाब बनाए पनि दोस्रो हाफमा फ्रान्सका किलियन एम्बाप्पेले खेलको दिशा परिवर्तन गरे। उनले ६६औँ मिनेटमा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाए।
त्यसपछि ब्राड्ली बार्कोलाले दोस्रो गोल थपे भने अतिरिक्त समयको अन्तिम क्षणमा एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सको जित सुनिश्चित गरे।
यससँगै एम्बाप्पेको विश्वकप गोल संख्या १४ पुगेको छ। उनी विश्वकप सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानतर्फ अघि बढेका छन्।
विश्वकपको दाबेदार मानिएको स्पेन भने नवप्रवेशी केप भर्डेसँग गोलरहित बराबरीमा रोकिएको छ। उत्कृष्ट रक्षात्मक प्रदर्शन गरेको केप भर्डेले स्पेनका स्टार खेलाडीहरूलाई गोल गर्न दिएन।
स्पेनका मिकेल मेरिनोले टोलीले बराबरीपछि निराशा महसुस गरे पनि सुधारको अवसर अझै बाँकी रहेको बताएका छन्। उनले सन् २०२२ मा अर्जेन्टिना र २०१० मा स्पेनले पनि सुरुआती खेलमा कठिनाइ भोगेर अन्ततः उपाधि जितेको उदाहरण दिएका छन्।
मेरिनोका अनुसार स्पेनको लक्ष्य अब आगामी खेलमा सुधार गर्दै प्रतियोगितामा बलियो पुनरागमन गर्नु रहेको छ। युवा खेलाडीहरूको ऊर्जा र अनुभवी खेलाडीहरूको सन्तुलनले टोलीलाई अघि बढाउने विश्वास उनले व्यक्त गरेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे