
काठमाडौं । कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका चार मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन्। बुधबार बिहान उनीहरूले मुख्यमन्त्री यामलाल कँडेललाई आफ्नो राजीनामा बुझाएका हुन्।
राजीनामा दिने मन्त्रीहरूमा आर्थिक मामिला तथा योजनामन्त्री राजिव विक्रम शाह, सामाजिक विकासमन्त्री घनश्याम भण्डारी, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सुरेश अधिकारी तथा ऊर्जा तथा जलस्रोत विकासमन्त्री विजय बुढा रहेका छन्।
बुधबार बिहान मन्त्रिपरिषद् बैठक बोलाइएको भए पनि कांग्रेसका कुनै पनि मन्त्री त्यसमा सहभागी भएनन्। अर्थमन्त्री शाह विदेश भ्रमणमा रहेका छन् भने ऊर्जा मन्त्री बुढा पनि बैठकमा उपस्थित भएनन्। वनमन्त्री अधिकारी र सामाजिक विकासमन्त्री भण्डारी भने मुख्यमन्त्री कार्यालय पुगेर बैठकमा नबसी राजीनामा बुझाएर फर्किएका थिए।
हाल कर्णालीमा एमाले र नेपाली कांग्रेसको गठबन्धन सरकार छ। यसअघि दुवै दलबीच आलोपालो मुख्यमन्त्री बन्ने सहमति भएको थियो। कांग्रेसका मन्त्रीहरूको सामूहिक राजीनामापछि अब कर्णाली प्रदेशको राजनीतिक अवस्था नयाँ मोडमा पुग्ने सम्भावना देखिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे