
काठमाडौँ । ई–पासपोर्ट खरिद प्रक्रियामा अनियमितता भएको आरोपमा भइरहेको अनुसन्धानका क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व परराष्ट्रमन्त्री डा। आरजु राणा देउवालाई बयानका लागि बोलाएको छ। अख्तियारको टोलीले काठमाडौंको बूढानीलकण्ठस्थित उनको निवासमा पुगेर उपस्थित हुनुपर्ने सूचना टाँसेको हो।
आयोगले सूचनामा सूचना बुझेको वा घरमा टाँसिएको मितिबाट बाटोको समयबाहेक तीन दिनभित्र टंगालस्थित कार्यालयमा उपस्थित हुन भनेको छ। हाल डा। राणा उपचारका लागि विदेशमा रहेकाले उनको घरमा स्थानीय जनप्रतिनिधिको रोहबरमा म्याद तामेल गरिएको बताइएको छ।
अख्तियारका अनुसार राहदानी छपाइको ठेक्का प्रक्रियामा भ्रष्टाचार भएको भन्ने उजुरीका आधारमा अनुसन्धान भइरहेको छ। यसअघि यही प्रकरणमा राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल, सूचना प्रविधि निर्देशक सुनीलकुमार केसी र तत्कालीन लेखा प्रमुख तुलसीप्रसाद आचार्यलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको थियो।
अनुसन्धानका क्रममा डा। राणाको पनि भूमिका हुनसक्ने देखिएपछि उनलाई बयानका लागि बोलाइएको हो। यद्यपि, उनीमाथि लागेको आरोपबारे अन्तिम निष्कर्ष भने अनुसन्धानपछि मात्र स्पष्ट हुनेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे