
काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले सरकारी जग्गा भोगाधिकारका आधारमा प्रयोग गर्दै आएका व्यक्ति, संस्था र निकायलाई कानुनी प्रक्रिया पूरा गरेर लिजमा रूपान्तरण गर्न आग्रह गरेको छ। विभागले देशभरका मालपोत तथा भूमि प्रशासन कार्यालयलाई पत्र पठाएर यस्ता जग्गाको विवरण संकलन गर्न र सम्बन्धित पक्षलाई जानकारी दिन निर्देशन दिएको हो।
विभागका अनुसार सरकारी जग्गा दर्ता तथा लिजसम्बन्धी कार्यनीति, २०७१ ले भोगाधिकारमा रहेका जग्गालाई निश्चित समयभित्र लिजमा रूपान्तरण गर्नुपर्ने व्यवस्था गरेको छ। तर धेरै स्थानमा यो प्रक्रिया पूरा नभएकाले धेरै जग्गा अझै भोगाधिकारकै अवस्थामा रहेका छन्।
मालपोत नियमावलीले पनि भोगाधिकारमा रहेका जग्गालाई लिजमा बदल्न सकिने स्पष्ट व्यवस्था गरेको छ। त्यसका लागि सम्बन्धित पक्षले बाँकी रकम र अन्य दायित्व पूरा गर्नुपर्ने हुन्छ।
विभागले समयमै प्रक्रिया पूरा नगर्दा कानुनी र प्रशासनिक समस्या आउन सक्ने भएकाले सम्बन्धित सबैलाई आवश्यक प्रक्रिया छिटो अघि बढाउन अनुरोध गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे