
काठमाडौँ । साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ को यात्रा शानदार जितसँगै सुरु गरेको छ। अमेरिकाको कान्सास सिटीमा बुधबार बिहान भएको खेलमा अर्जेन्टिनाले अल्जेरियालाई ३–० ले हरायो। टोलीको जितमा कप्तान लियोनल मेसी एक्लैले तीन गोल गर्दै ह्याट्रिक पूरा गरे।
३८ वर्षीय मेसीले यस विश्वकपमार्फत आफ्नो कीर्तिमानी छैटौँ विश्वकप सहभागिता जनाएका छन्। खेलको सुरुमै उनले गोल गरे पनि अफसाइडका कारण त्यो गोल मान्य भएन। तर केही समयपछि उनले उत्कृष्ट व्यक्तिगत प्रयासमार्फत गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए।
दोस्रो हाफको ६०औँ मिनेटमा गोलकिपरबाट फर्किएको बललाई मेसीले जाली चुमाउँदै आफ्नो दोस्रो गोल गरे। त्यसपछि ७६औँ मिनेटमा पेनाल्टी क्षेत्रबाहिरबाट शानदार प्रहार गर्दै उनले विश्वकप करियरकै पहिलो ह्याट्रिक पूरा गरे।
यो ह्याट्रिकसँगै मेसी विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडीहरूको सूचीमा जर्मनीका पूर्व स्ट्राइकर मिरोस्लाभ क्लोजेसँग बराबरीमा पुगेका छन्। दुवैको नाममा अब १६–१६ गोल रहेका छन्।
ह्याट्रिक पूरा गरेको केही मिनेटपछि प्रशिक्षकले उनलाई आराम दिन मैदानबाट बाहिर निकाले। त्यस बेला रंगशालामा उपस्थित दर्शकहरूले उभिएर ताली बजाउँदै मेसीको सम्मान गरेका थिए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे