
काठमाडौँ । भारतीय सेनाको हेलिकोप्टर अनुमति नलिई नेपाली आकाशमा उडेको विषय संसद्मा उठेको छ। प्रतिनिधिसभा बैठकमा नेकपाका प्रमुख सचेतक युवराज दुलालले यो विषय उठाउँदै सरकारसँग स्पष्टीकरण माग गरेका छन्।
उनका अनुसार भारतीय सेनाको हेलिकोप्टर दार्चुलाको व्यास गाउँपालिका–१ छाङरु क्षेत्रको नेपाली आकाश हुँदै कालापानीतर्फ गएको थियो। हेलिकोप्टरमा भारतको इन्डो–टिबटेन बोर्डर पुलिस (आईटीबीपी) का महानिर्देशक शत्रुजीतसिंह कपूर सवार रहेको बताइएको छ।
जिल्ला प्रशासन कार्यालय दार्चुलाका अनुसार जेठ २७ गते बिहान उक्त हेलिकोप्टर नेपाली पक्षको अनुमति बिना उडेको पाइएको हो। सशस्त्र प्रहरी बलबाट जानकारी प्राप्त भएपछि प्रशासनले यसबारे गृह मन्त्रालयलाई मौखिक जानकारी गराएको थियो।
प्रारम्भिक जानकारीअनुसार आईटीबीपी प्रमुख कपूर कालापानी नजिकको गुञ्जीस्थित ब्यारेक निरीक्षणका लागि गएका थिए। नेपाली आकाशको प्रयोग अनुमति बिना गरिएको भन्दै सांसद दुलालले सरकारको धारणा र आवश्यक कदमबारे जवाफ माग गरेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे