
काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गतको दोस्रो खेलमा दक्षिण कोरियाले शानदार पुनरागमन गर्दै चेकियामाथि २–१ को जित दर्ता गरेको छ। एक गोलले पछि परेको अवस्थामा दक्षिण कोरियाले खेलमा फर्किंदै समूह चरणमा महत्वपूर्ण तीन अंक हात पारेको हो।
खेलको पहिलो हाफमा दक्षिण कोरियाले बलमाथि नियन्त्रण कायम गर्दै लगातार दबाब सिर्जना गरे पनि गोल गर्न सकेन। कप्तान सोनको दुई उत्कृष्ट अवसरलाई चेक रिपब्लिकका गोलरक्षकले विफल पार्दै टोलीलाई अग्रता बचाइराखेका थिए।
दोस्रो हाफ सुरु भएपछि भने खेलको प्रवाहविपरीत चेकियाले अग्रता लियो। लामो थ्रोमार्फत सिर्जना भएको अवसरलाई क्रेज्चीले सदुपयोग गर्दै टोलीलाई १–० को अग्रता दिलाए।
तर चेकियाको अग्रता धेरैबेर टिक्न सकेन। दक्षिण कोरियाका ह्वाङ इन–बोमले उत्कृष्ट प्रहारमार्फत बराबरी गोल फर्काएपछि खेल पुनः प्रतिस्पर्धात्मक बनेको थियो। त्यसपछि ह्वाङले नै सिर्जना गरेको अवसरमा वैकल्पिक खेलाडी ओहले नजिकबाट गोल गर्दै दक्षिण कोरियालाई २–१ को अग्रता दिलाए।
समग्र खेलमा दक्षिण कोरियाले उत्कृष्ट प्रदर्शन गर्दै जित आफ्नो पक्षमा पार्न सफल भयो। अवसर सिर्जना र आक्रमणको हिसाबले पनि दक्षिण कोरिया स्पष्ट रूपमा हाबी देखिएको थियो।
यस जितसँगै दक्षिण कोरिया समूह ‘ए’ को शीर्ष स्थानमा मेक्सिकोसँग बराबरी अंकमा पुगेको छ। अब दक्षिण कोरियाले आफ्नो अर्को खेलमा मेक्सिकोसँग प्रतिस्पर्धा गर्नेछ भने चेकियाले दक्षिण अफ्रिकाको सामना गर्ने तालिका रहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे