
काठमाडौं। संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको ऐतिहासिक दिनको स्मरणमा आज देशभर विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाइएको छ। राजधानी काठमाडौंस्थित टुँडिखेलमा सरकारले विशेष औपचारिक समारोह आयोजना गरी दिवस मनाएको हो।
वि.सं. २०६५ जेठ १५ गते जननिर्वाचित पहिलो संविधानसभाले निरंकुश राजतन्त्रको औपचारिक अन्त्य गर्दै नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको दिनको सम्झनामा हरेक वर्ष गणतन्त्र दिवस मनाउने गरिन्छ।
दिवसको अवसरमा आज बिहान नेपाली सेनाले गणतन्त्र दिवसको स्वागतस्वरूप तोप पड्काएको थियो। त्यसपछि सैनिक मञ्च टुँडिखेलमा बिहान ८ बजेदेखि औपचारिक समारोह सुरु गरिएको थियो।
समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री वालेन्द्र शाह (बालेन), उच्चपदस्थ सरकारी अधिकारी, सुरक्षा निकायका प्रमुख तथा विभिन्न विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा राष्ट्रपति पौडेलले विशेष सम्बोधन गर्नुभएको थियो भने प्रधानमन्त्री बालेन शाहले सम्बोधन गर्नुभएन।
औपचारिक कार्यक्रमअघि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा विभिन्न सांस्कृतिक समूहहरूले कवाज, सांस्कृतिक झाँकी तथा कला प्रदर्शन गरेका थिए। समारोहमा गणतन्त्र स्थापना पछिको राजनीतिक परिवर्तन, लोकतान्त्रिक अभ्यास तथा राष्ट्रिय एकताको सन्देशसमेत प्रवाह गरिएको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे