
सगरमाथाको चुचुरोमा कूटनीतिक झण्डा
काठमाडौँ । अमेरिकाको नेपालस्थित दूतावासका सार्वजनिक मामिला प्रमुख माइक हार्करले विश्वको सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहण गरेका छन् । उनले २०२६ मे २० तारिख बिहान ९:१० बजे चुचुरोमा पुगेर ऐतिहासिक उपलब्धि हासिल गरेका हुन् । यससँगै हार्कर सगरमाथा आरोहण गर्ने पहिलो कार्यरत अमेरिकी विदेश सेवा अधिकारी (Foreign Service Officer) बनेका छन् ।
यो उपलब्धिलाई आगामी “फ्रीडम २५०” अर्थात् अमेरिकी स्वतन्त्रताको २५० औं वार्षिकोत्सवको सन्दर्भमा विशेष महत्वका रूपमा लिइएको छ । यसले अमेरिकी दृढता, साहस, अन्वेषण र लक्ष्यप्राप्तिको भावना झल्काउने प्रतीकात्मक उपलब्धि भएको दूतावासले जनाएको छ ।
व्यक्तिगत प्रयासका रूपमा गरिएको यस आरोहण हार्करको दुई दशक लामो हिमाली यात्राको परिणाम हो । सन् २००६ मा अन्नपूर्ण बेस क्याम्प पदयात्राका क्रममा नेपालसँग गहिरो सम्बन्ध बनेपछि उनको हिमालप्रतिको आकर्षण निरन्तर बढ्दै गएको उल्लेख गरिएको छ ।
यो सफल आरोहणले नेपाल–अमेरिका बीचको करिब आठ दशक लामो मित्रता, सांस्कृतिक सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ । साथै, दिगो साहसिक पर्यटनले स्थानीय अर्थतन्त्रमा योगदान पुर्याउँदै अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा पनि भूमिका खेल्ने देखिएको छ ।
साथै, यस सफलताले हिमाल आरोहणको क्षेत्रमा नेपाली शेर्पा समुदायको योगदान, साहस र विशेषज्ञतालाई पुनः उजागर गरेको छ । सगरमाथा आरोहणलाई सम्भव बनाउने प्रमुख आधार शेर्पा समुदाय नै भएको उल्लेख गर्दै हिमाली क्षेत्रको संरक्षण र दिगो व्यवस्थापन आवश्यक रहेकोमा जोड दिइएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे