
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा नं. २३ ले रञ्जना लिपिको संरक्षण तथा प्रवर्द्धनका लागि वडाभित्र सञ्चालनमा रहेका व्यवसायमा रञ्जना लिपियुक्त परिचय पाटी जडान गर्न सुरु गरेको छ । वडाले व्यवसाय दर्ता गरी नियमित कर तिर्दै आएका ५० जना करदातालाई पहिलो चरणमा उपहारस्वरुप बत्ती जडित परिचय पाटी जडान गरिदिएको जनाएको छ ।
परिचय पाटी जडान कार्यको निरीक्षणका क्रममा कार्यवाहक प्रमुख डंगोल झोँछे क्षेत्रमा पुग्नुभएको थियो । कार्यक्रमअन्तर्गत जुद्ध शालिकदेखि वसन्तपुर, नौतले दरबार हुँदै झोँछे र ओमबहाल क्षेत्रसम्मका व्यवसायमा परिचय पाटी जडान गरिएको जनाइएको छ ।
वडाका अनुसार गोलाकार डिजाइनमा तयार गरिएका पाटीको माथिल्लो भागमा साना अक्षरमा अङ्ग्रेजी भाषा, बीच भागमा ठूला अक्षरमा रञ्जना लिपि तथा तल्लो भागमा देवनागरी लिपिमा ठेगाना उल्लेख गरिएको छ । उक्त डिजाइन निर्माणमा क्यालीजात्रा फाउन्डेसनले सहयोग गरेको तथा कार्यक्रम कार्यान्वयनमा झोँछे सामुदायिक समाजले संयोजन गरिरहेको जनाइएको छ ।
वडाध्यक्ष तथा महानगरपालिकाको विधायन समितिका संयोजक मचाराजा महर्जनले मौलिक तथा पर्यटकीय क्षेत्रको पहिचान जोगाउन र दृश्यात्मक सुन्दरता बढाउन अभियान सुरु गरिएको बताउनुभएको छ । उहाँका अनुसार रञ्जना लिपिको संरक्षण, व्यवसायिक परिचय पाटीको आकार तथा शैलीमा एकरूपता कायम गर्ने र करदातालाई कर तिर्न प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम अघि बढाइएको हो ।
वडाभित्र करिब ७ सय व्यवसायी रहेको उल्लेख गर्दै महर्जनले व्यवसाय दर्ता गरी नियमित कर तिर्ने करदातालाई चरणबद्ध रूपमा परिचय पाटी वितरण गर्दै लगिने जानकारी दिनुभएको छ ।
सम्पदा संरक्षणकर्मी तथा स्थानीय गणपतिलाल श्रेष्ठले वडाको पहलले झोँछे क्षेत्रको मौलिकता संरक्षण र पर्यटन व्यवस्थापनमा सकारात्मक योगदान पुगेको प्रतिक्रिया दिनुभएको छ । उहाँले साना तर प्रभावकारी कामबाट दीर्घकालीन परिणाम आउने उल्लेख गर्दै कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे