
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत झापाको बिर्तामोडस्थित श्री दुर्गा माध्यमिक विद्यालयलाई कुलर तथा ब्रेल पेपर हस्तान्तरण गरेको छ। बैंकको शाखा कार्यालय बिर्तामोडमार्फत विद्यालयका दृष्टिविहीन विद्यार्थीहरूलाई लक्षित गर्दै उक्त सहयोग प्रदान गरिएको हो।
एक कार्यक्रमबीच बैंकका कोशी प्रदेश प्रमुख खिमलाल भुसालले विद्यालयका प्रधानाध्यापक लक्ष्मण सापकोटालाई कुलर तथा ब्रेल पेपर हस्तान्तरण गर्नुभएको थियो। विद्यालयको दृष्टिविहीन छात्रावासमा अध्ययनरत विद्यार्थीहरूको शैक्षिक तथा दैनिक आवश्यकतालाई सहयोग पुर्याउने उद्देश्यले सामग्री उपलब्ध गराइएको बैंकले जनाएको छ।
बैंकका अनुसार गर्मीयाममा छात्रावासभित्र सहज वातावरण कायम गर्न कुलर उपयोगी हुने विश्वास गरिएको छ। साथै, दृष्टिविहीन विद्यार्थीहरूको अध्ययन–अध्यापनका लागि अत्यावश्यक मानिने ब्रेल पेपरले उनीहरूको सिकाइ प्रक्रियालाई थप प्रभावकारी, सहज र गुणस्तरीय बनाउन योगदान पुर्याउने अपेक्षा गरिएको छ।
सहयोग ग्रहण गर्दै प्रधानाध्यापक सापकोटाले बैंकप्रति आभार व्यक्त गर्नुभयो। उहाँले प्राप्त सामग्रीले दृष्टिविहीन विद्यार्थीहरूको अध्ययन तथा छात्रावास व्यवस्थापनमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा बोल्दै बैंकका कोशी प्रदेश प्रमुख भुसालले शिक्षा क्षेत्रको विकास तथा समुदायका आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले बैंकले विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो। उहाँले आगामी दिनमा पनि यस्ता सामाजिक तथा शैक्षिक सहयोगका कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे