
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङमाथि व्यवसायिक साझेदारी र सम्पत्ति विवरणसँग सम्बन्धित विषयलाई लिएर विवाद चुलिँदै गएको छ । गृहमन्त्री बनेको एक महिना नपुग्दै उनी सम्पत्ति शुद्धीकरणसम्बन्धी छानबिनमा रहेका व्यापारी दीपक भट्ट तथा शंकर ग्रुपलगायतसँग व्यवसायिक साझेदार रहेको विषय सार्वजनिक भएपछि बहस तीव्र बनेको हो । यसै सन्दर्भमा बिचौलिया दीपक भट्टको प्रभावमा लाइसेन्स पाएको स्टार माइक्रो इन्स्योरेन्स कम्पनीमा गृहमन्त्री गुरुङ संस्थापक सेयरधनी रहेको विवरण सार्वजनिक भएको छ ।
उक्त इन्स्योरेन्सको प्रारम्भिक सेयर लगत सूचीको ४९औँ नम्बरमा उनको नाम रहेको र उनले करिब २५ लाख रुपैयाँ बराबरको सेयर लगानी गरेको देखिएको छ । २०७९ सालमा लाइसेन्स पाएको उक्त लघु बीमा कम्पनीमा इन्फिनिटी होल्डिङ्स, जगदम्बा ग्रुप तथा शंकर ग्रुपलगायतका व्यावसायिक समूहको लगानी रहेको उल्लेख छ । तीमध्ये केही समूहका सञ्चालकहरू हाल सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा प्रहरी हिरासतमा रहेको जनाइएको छ । तर, गृहमन्त्री गुरुङले पेश गरेको सम्पत्ति विवरणमा भने उक्त सेयर समावेश नभएको दाबी गरिएको छ ।
उनले हालै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएको विवरणमा होप होल्डिङ्स र अनुज प्रिमियम अपार्टमेन्ट्समा मात्र संस्थापक सेयर लगानी रहेको उल्लेख गरेका छन् । यसले पारदर्शिता र जवाफदेहितासम्बन्धी प्रश्न उठाएको छ । यसैबीच, जेनजी मुभमेन्ट नेपालले गृहमन्त्रीमाथि लागेका आरोपहरूको निष्पक्ष छानबिन सुनिश्चित गर्न उनलाई पदबाट अलग गर्न माग गरेको छ ।
मुभमेन्टले मन्त्री पदमा रहँदा अनुसन्धान प्रक्रिया प्रभावित हुनसक्ने भन्दै स्वार्थको द्वन्द्व टार्न आवश्यक कदम चाल्नुपर्ने धारणा सार्वजनिक गरेको छ । उता, गृहमन्त्री गुरुङ आबद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)भित्र पनि यस विषयमा आन्तरिक छलफल तीव्र भएको छ । पार्टी स्रोतका अनुसार आरोपबारे छानबिन प्रक्रिया अगाडि बढाउने विषयमा केन्द्रीय समिति बैठकमा निर्णय हुने तयारी गरिएको छ । पार्टी नेतृत्वले आरोपको यथार्थता बुझ्न सम्बन्धित पक्षसँग सोधपुछ गरी आवश्यक निर्णय लिने जनाएको छ ।
विवाद सार्वजनिक भएसँगै गृहमन्त्री गुरुङले पार्टी सभापतिसँग भेटवार्ता गरी आन्तरिक परामर्शसमेत तीव्र पारेको स्रोतले जनाएको छ । यस विषयमा गृहमन्त्री गुरुङको औपचारिक प्रतिक्रिया भने सार्वजनिक भइसकेको छैन ।
केही समयअघि नातावादसम्बन्धी आरोप लागेका तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपक कुमार साहलाई पदमुक्त गरिएको सन्दर्भमा गृहमन्त्रीको हकमा पनि सरकारमाथि दबाब बढिरहेको जनाइएको छ ।गृहमन्त्री सुधन गुरुङ र बिचौलिया दीपक भट्टबीचको कैयौं सेयर साइनो खुलेपछि उनीहरुबीच धेरै वर्ष देखि नै सुमधुर सम्बन्ध रहेको पुष्टि भएको छ । भदौको जेन जी आन्दोलन हाइज्याक गरेको आरोप लागेका सुधन हामी नेपालका संस्थापक संयोजक हुन् ।
त्यही संस्थाले भट्टलाई पाँच वर्षअघि राजधानीमा सम्मान गरेको थियो । कतै स्मार्ट माइक्रो फाइनान्समा प्राप्त २५ लाखको “निशुल्क” शेयर त्यही सम्मानको बार्टर त हैन ? प्रश्न यसरी पनि उठ्ने गरेको छ । सन् २०२१ को डिसेम्बर २१ मा उक्त संस्थाले आयोजना गरेको साधारण सभामा सहयोगी तथा दाताहरुलाई सम्मान गर्दा बिचौलिया भट्टलाई पनि उपहार र कदर पत्र प्रदान गरिएको थियो ।
सुधन र बार्बरा फाउण्डेसनका अध्यक्ष डा. सन्दुक रुइतले निजलाई उपहार र कदरपत्र हस्तान्तरण गरेको फोटो भेटिएको छ । एकपछि अर्को विवादमा तानिएपछि सुधनको सामाजिक संस्था हामी नेपालको वेवसाइट खुल्न छाडेको छ । हिजो बेलुकी मात्रै सुधन र दीपक भट्टबीच कसिलो व्यापारिक सम्बन्ध रहेको विवरणहरु सार्वजनिक भएको छ । यसअघि उनले सार्वजनिक गरेको सम्पत्ति विवरणमा उल्लेखित जमिन विवरण प्रचलित हदबन्दीभन्दा झण्डै चार गुणा बढी देखिएको थियो । सुन,नगद र सेयर विवरणको स्रोतबारे आलोचना भएपछि उनले सामाजिक सञ्जालमा ‘गरिब भएर जन्मिनु गल्ती होइन,गरिब भएर मर्नु गल्ती हो’ लेखेका थिए ।
गृहमन्त्री सुधन गुरुङले मन्त्री नियुक्त हुनुअघि छोटो अवधिमै ठूलो परिमाणमा सेयर खरिद गरेको विवरण सार्वजनिक भएपछि उनीमाथि गम्भीर प्रश्न उठ्न थालेका छन्। प्राप्त तथ्यअनुसार उनले करिब पचास दिनको अवधिमा धितोपत्र बजारमा ५३ लाख ३५ हजार ५८० रुपैयाँ बराबरको सेयर खरिद गरेको देखिएको छ, जसले समय र स्रोत दुवैबारे व्यापक बहस निम्त्याएको छ।
विवरणअनुसार २०८२ माघ १५ देखि चैत ८ गतेसम्म उनले दोस्रो बजारमा १० पटक कारोबार गर्दै उल्लेखित रकम बराबरको सेयर खरिद गरेका छन्। प्रारम्भिक दिनमै करिब १५ लाख रुपैयाँ लगानी गरेका उनले माघ २७ गते एकैपटक १६ लाखभन्दा बढी रकम लगानी गरेका थिए। मन्त्री नियुक्त हुनुभन्दा केही दिनअघि चैत ८ गते मात्र सातवटा कारोबारमार्फत थप सेयर खरिद गरिएको तथ्य पनि सार्वजनिक भएको छ।
उक्त सम्पूर्ण कारोबार एक धितोपत्र दलाल संस्थामार्फत सम्पन्न भएको देखिन्छ भने मुख्य रूपमा पूर्वाधार तथा लगानीसम्बन्धी कम्पनीका सेयरमा लगानी केन्द्रित गरिएको जनाइएको छ। यसअघि दोस्रो बजारमा सक्रिय नदेखिएका गुरुङ अचानक ठूलो लगानीसहित प्रवेश गर्नुले लगानीको स्रोत र समय छनोटमाथि प्रश्न उठाएको छ।
यससँगै सम्पत्ति शुद्धीकरण अनुसन्धानमा परेका समूहसँग सम्बन्धित दुई लघु बीमा कम्पनीमा समेत गुरुङको लगानी रहेको तथ्य सार्वजनिक भएको छ। ती कम्पनीहरूमा उनले २५–२५ लाख रुपैयाँका दरले संस्थापक सेयर राखेको देखिएको छ, जसले व्यावसायिक सम्बन्ध र लगानीको प्रकृतिबारे थप जिज्ञासा उत्पन्न गरेको छ।


सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे