
चितवन। चितवन राष्ट्रिय निकुञ्ज ले चालु आर्थिक वर्षको साउनदेखि हालसम्म विभिन्न वन तथा वन्यजन्तु सम्बन्धी कसुरमा १२८ जनालाई पक्राउ गरी कारबाही गरेको जनाएको छ। निकुञ्जका सूचना अधिकारी अविनास थापा मगर का अनुसार पक्राउ परेकामध्ये सबैभन्दा धेरै अवैध रूपमा माछा मार्ने व्यक्तिहरू रहेका छन्।
निकुञ्जले राप्ती नदी क्षेत्रमा अवैध माछा मार्ने ७० जनालाई नियन्त्रणमा लिएको छ। त्यसैगरी गैँडा सम्बन्धी मुद्दामा तीन, सालक सम्बन्धी पाँच, निउरो टिप्ने ११, अवैध रूपमा घाँस तथा दाउरा संकलन गर्ने ३०, पन्छी मार्ने एक, अनुमति बिना निकुञ्ज प्रवेश गर्ने चार र अन्य चार जनालाई पनि पक्राउ गरिएको छ।
यस अवधिमा निकुञ्ज कार्यालयले चार प्रकारका मुद्दा अदालतमा दर्ता गराएको जनाएको छ। तीमध्ये सालकसम्बन्धी दुई, सवारीसाधनको ठक्करबाट गैँडा घाइते भएको एक र करेन्ट लगाएर गैँडा मारेको एक मुद्दा रहेका छन्।
चालु आर्थिक वर्षमा नौवटा मुद्दाको फैसला भएको छ। गत आर्थिक वर्षबाट बाँकी रहेका २६ र यस वर्ष दर्ता भएको एक गरी कुल २७ मुद्दामध्ये नौवटामा निर्णय भएको जनाइएको छ। हाल १८ मुद्दा विचाराधीन अवस्थामा छन्, जसमा सात वनसम्बन्धी र ११ वन्यजन्तुसम्बन्धी मुद्दा रहेका छन्।
निकुञ्जले वन तथा वन्यजन्तु संरक्षणलाई प्रभावकारी बनाउन निगरानी र कारबाहीलाई अझ सुदृढ बनाउँदै लैजाने जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे