
काठमाडौँ। बैंकिङ कसुरसम्बन्धी मुद्दामा दोषी ठहर भई फरार रहेका नेपाल सेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडका तत्कालीन कार्यकारी अध्यक्ष योगेन्द्रप्रसाद श्रेष्ठ पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले उनलाई आइतबार काठमाडौँको सितापाइला क्षेत्रबाट नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार सर्वोच्च अदालतले बैंकिङ कसुरसम्बन्धी दुई छुट्टाछुट्टै मुद्दामा श्रेष्ठलाई दोषी ठहर गर्दै कैद तथा जरिबाना सजाय सुनाएको थियो। अदालतले पहिलो मुद्दामा १९ करोड ४६ लाख रुपैयाँभन्दा बढी जरिबाना र तीन वर्ष कैद तथा दोस्रो मुद्दामा ३ करोड २१ लाख रुपैयाँभन्दा बढी जरिबाना र तीन वर्ष कैद सजाय तोकेको थियो। यसरी दुवै मुद्दा जोड्दा उनलाई कुल २२ करोड ६७ लाख रुपैयाँभन्दा बढी जरिबाना र छ वर्ष कैद सजाय ठहर भएको छ।
नेपाल सेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडमा कार्यरत रहँदा उनले निक्षेपकर्ता तथा संस्थाको हितविपरीत हुने गरी अनियमित तथा गैरकानुनी गतिविधि गरेको आरोपमा नेपाल राष्ट्र बैंकको वित्तीय संस्था सुपरिवेक्षण विभागले उजुरी दिएको थियो। सोही आधारमा भएको अनुसन्धानपछि सर्वोच्च अदालतले २०८१ भदौ ५ गते दोषी ठहर गरेको थियो।
सजाय सुनाइएपछि फरार रहेका श्रेष्ठलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको प्रहरीले जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे