
सर्लाही। सर्लाहीस्थित नेपाल–भारत सीमा क्षेत्रमा दुवै देशका सुरक्षाकर्मीले संयुक्त सुरक्षा गस्ती सञ्चालन गरेका छन्। शनिबार दिउँसो करिब १२ बजेदेखि सुरु भएको गस्ती इलाका प्रहरी कार्यालय संग्रामपुर, सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बल (एसएसबी) को संयुक्त सहभागितामा गरिएको हो।
गस्ती इलाका प्रहरी कार्यालय संग्रामपुरबाट प्रहरी वरिष्ठ नायब निरीक्षक सुशिल रावलको कमाण्डमा ४ जना, सशस्त्र प्रहरी बल नेपाल बिओपी संग्रामपुरबाट नायब निरीक्षक प्रदीप पनेरुको कमाण्डमा ७ जना तथा भारतीय सशस्त्र सीमा बल ५१ बटालियन ढाकाबाट इन्सपेक्टर राहुल सिंहको कमाण्डमा ५ जना गरी कुल १६ जना सुरक्षाकर्मी सहभागी थिए।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार संयुक्त टोलीले नेपाल–भारत सीमामा पर्ने पिलर नम्बर ३१७/३ देखि पिलर नम्बर ३१८/२३ सम्मको क्षेत्रमा गस्ती गर्दै सीमा सुरक्षाको अवस्था, आवतजावतको गतिविधि तथा सम्भावित अवैध क्रियाकलापको अनुगमन गरेको हो। सीमा क्षेत्रमा शान्ति, सुरक्षा र आपसी समन्वय सुदृढ गर्ने उद्देश्यले यस्ता संयुक्त गस्ती नियमित रूपमा सञ्चालन हुँदै आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे