
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयमा कार्यरत अधिकृत इन्द्र न्यौपानेसहित तीन जना कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा पक्राउ गरेको छ। पक्राउ पर्नेमा न्यौपानेसँगै सञ्चार मन्त्रालयअन्तर्गत हुलाक सेवा विभागमा कार्यरत नायब सुब्बा छविप्रसाद रिजाल र कार्यालय सहयोगी गणेशप्रसाद पुडासैनी पनि छन्।
अख्तियारका अनुसार उनीहरूबाट दुई लाख ६८ हजार २८८ रुपैयाँ नगद र २३ थान मोबाइल फोन बरामद गरिएको छ। बरामद मोबाइल फोनहरू परीक्षणका लागि प्रयोगशालामा पठाउने तयारी भइरहेको छ।
यो घटना नेपालबाट कुरिअरमार्फत सामान पठाउँदा सेवाग्राहीसँग घुस मागिएको उजुरीपछि बाहिर आएको हो। टंगालस्थित कार्यालयमा खटिएको अख्तियारको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो।
अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार कार्यालय सहयोगी पुडासैनीको कार्यकक्षबाट १० हजार रुपैयाँ, उनको घरबाट ४० हजार ३५० रुपैयाँ र साथमा रहेको ९६ हजार ७० रुपैयाँ गरी कुल एक लाख ४६ हजार ४२० रुपैयाँ बरामद गरिएको छ। आयोगले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे