
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालसहित ९३ जना प्रतिवादी रहेको पतञ्जली जग्गा हिनामिना प्रकरणमा विशेष अदालतले साक्षी बुझ्ने आदेश दिएको छ। आइतबार न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र डिल्लीरत्न श्रेष्ठको इजलासले मुद्दाको सुनुवाइ अघि बढाउँदै साक्षी परीक्षणको प्रक्रिया सुरु गर्न आदेश दिएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ २२ गते काभ्रेको साँगामा रहेको हदबन्दी छुटको जग्गा कानुन विपरीत खरिद–बिक्री गर्न अनुमति दिएको आरोपसहित उक्त मुद्दा विशेष अदालतमा दर्ता गरेको थियो। आयोगका अनुसार सरकारी निर्णय प्रक्रियाको दुरुपयोग गर्दै निजी हितलाई लाभ पुग्ने गरी जग्गा कारोबार गराइएको दाबी गरिएको छ।
यस प्रकरणमा पूर्वप्रधानमन्त्री नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो दाबी गरिएको छ। यसअघि असार ११ गते भएको प्रारम्भिक सुनुवाइमा विशेष अदालतले उनलाई ३५ लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो। अदालतको पछिल्लो आदेशसँगै अब मुद्दा साक्षी परीक्षणको चरणमा प्रवेश गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे