
काठमाण्डौ। नेपाली सेनाको छाउनीस्थित वीरेन्द्र अस्पतालले आफ्नो स्थापना भएको १०० वर्ष पूरा गरेको अवसरमा शतवार्षिकी कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। सोमबार जंगी अड्डा परिसरमा आयोजित कार्यक्रममा नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज सिग्देलको प्रमुख आतिथ्यमा विविध औपचारिक तथा सम्मान कार्यक्रमहरू सञ्चालन गरिएका थिए।
शतवार्षिकी समारोहका क्रममा राष्ट्रप्रति सैनिकका रूपमा कर्तव्य निर्वाह गर्नुका साथै स्वास्थ्यकर्मीका रूपमा कठिन जिम्मेवारी कुशलतापूर्वक पूरा गर्दै चिकित्सा क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यक्तित्वहरूलाई विशेष सम्मान प्रदान गरिएको छ। प्रधान सेनापतिबाट अस्पतालका प्रथम कमाण्डिङ अफिसर तथा वरिष्ठ शल्य चिकित्सक प्राविधिक सहायक स्वर्गीय मदनमान मल्ल (अ.प्र.) र मेट्रोन प्राविधिक प्रमुख सेनानी बिन्दु श्रेष्ठ (अ.प्र.) लाई सम्मान गरिएको नेपाली सेनाले जनाएको छ।
कार्यक्रममा अस्पतालका कमाण्डेन्ट प्राविधिक सहायक रथी डा. नम्रता रावलले स्वागत मन्तव्य राख्दै वीरेन्द्र अस्पतालले विगत एक शताब्दीयता सैनिक मात्र नभई सर्वसाधारण नागरिकको उपचारमा समेत पुर्याएको योगदानको चर्चा गरिन्। उनले अस्पतालको सेवा, चिकित्सा क्षमता र भविष्यका योजनाबारे पनि प्रकाश पारिन्।
शतवार्षिकी कार्यक्रममा बलाधिकृत, बलाध्यक्ष, बहालवाला तथा अवकाश प्राप्त रथीवृन्द, अधिकृतहरू, सैनिक श्रीमती संघका पदाधिकारीहरू तथा विभिन्न अस्पताल र सरकारी–गैरसरकारी संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
यसै अवसरमा शतवार्षिकी कार्यक्रमअन्तर्गत आइतबार छाउनीस्थित वीरेन्द्र अस्पताल परिसरमा प्रधान सेनापतिबाट नव–निर्मित ‘वीर स्मारक’को एक विशेष कार्यक्रमबीच अनावरण गरिएको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे