
काठमाडौं, कार्तिक २०, २०८२ — एनसेल र मेटलाइफ नेपालले संयुक्त रूपमा “डाटासँगै जीवन बीमा” नामक नवीन योजना सुरु गरेका छन् । यो नेपालमै पहिलोपटक ल्याइएको यस्तो सेवा हो, जसअन्तर्गत ग्राहकहरूले मोबाइल डेटा खरिद गर्दा साथसाथै जीवन बीमा र घातक रोग बीमाको सुविधा पनि पाउँछन् ।
यो योजना अन्तर्गत एनसेलका ग्राहकहरूले दुई फरक प्याकेजमध्ये कुनै एक रोज्न सक्छन् ।
पहिलो प्याकेज करसहित रु. ९९ को छ, जसमा ग्राहकले ३ दिनको लागि १०० एमबी डेटा, रु. २ लाख बराबरको म्यादी जीवन बीमा र रु. २ लाख बराबरको घातक रोग बीमा प्राप्त गर्छन् । यो बीमा सुविधा प्याक खरिदको मितिबाट ३० दिनसम्म मान्य रहन्छ ।
दोस्रो प्याकेज रु. ३९ को दरमा उपलब्ध छ, जसमा ३ दिनका लागि १०० एमबी डेटा, रु. ५० हजार बराबरको म्यादी जीवन बीमा र रु. ५० हजार बराबरको घातक रोग बीमा पाउन सकिन्छ । यो पनि खरिद गरिएको मितिबाट ३० दिनसम्म मान्य रहन्छ ।
ग्राहकहरूले यी प्याकहरू १२३४*६# डायल गरेर वा एनसेल एपमार्फत फाराम भरेर सजिलै सक्रिय गर्न सक्छन् । बीमा फाराम बुझाएलगत्तै जीवन बीमा तुरुन्तै लागू हुन्छ भने घातक रोग बीमा ३० दिनको प्रतीक्षा अवधिपछि सक्रिय हुन्छ ।
एनसेल र मेटलाइफको यो साझेदारीले नेपाली जनतालाई विशेष गरी ग्रामीण र विकट क्षेत्रमा बस्ने उपभोक्ताहरूलाई बीमाको पहुँच सहज बनाउने लक्ष्य लिएको छ । सस्तो मूल्य, डिजिटल प्रक्रिया र प्रभावकारी बीमा कभरेजसहितको यो पहलले देशमा वित्तीय समावेशिता र सामाजिक सुरक्षातर्फ नयाँ बाटो खोल्ने विश्वास लिइएको छ ।
एनसेलका चीफ कन्जुमर बिजनेस अफिसर उपङ्ग दत्तले भने, “मेटलाइफ नेपालसँगको सहकार्यबाट देशभरका ग्राहकहरूलाई बीमा सुरक्षा सहितको सेवा प्रदान गर्न पाउँदा हामी अत्यन्तै हर्षित छौं । यो सहकार्यले बीमाको पहुँच तल्लो तहसम्म पुगोस् भन्ने हाम्रो सामाजिक प्रतिबद्धतालाई अझ बलियो बनाएको छ । आफ्ना ग्राहकहरूका लागि मूल्य सिर्जना गर्नु नै हाम्रो कामको केन्द्रबिन्दु हो ।”
त्यसैगरी, मेटलाइफ नेपालका प्रमुख वितरण अधिकृत अरुण बहादुर बस्नेतले भने, “सुरक्षा सबैको अधिकार हो, सुविधा होइन भन्ने हाम्रो विश्वास हो । यो सहकार्यको उद्देश्य सानो डेटा खरिदमार्फत दीर्घकालीन मानसिक शान्ति र सुरक्षा प्रदान गर्नु हो । यसले नेपाली उपभोक्तामा बीमाप्रतिको विश्वसनीयता र पहुँच बढाउनेछ ।”
सन् २००४ मा स्थापना भएर २००५ देखि सेवा सुरु गरेको एनसेल नेपालकै पहिलो निजी मोबाइल सेवा प्रदायक हो । कम्पनीले ‘कनेक्टिभिटीमार्फत हरेक नेपालीलाई जोड्ने’ लक्ष्यसहित काम गर्दै आएको छ । बेलायतस्थित स्पेक्ट्रलाइट यूके लिमिटेडको स्वामित्वमा रहेको एनसेलले हालसम्म नेपाल सरकारलाई ३६० अर्ब रुपैयाँभन्दा बढी कर तथा शुल्क तिरेको छ ।
कम्पनीले आफ्नो सामाजिक जिम्मेवारीअन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण, कला र संस्कृतिको संरक्षणजस्ता क्षेत्रमा २ अर्ब रुपैयाँभन्दा बढी योगदान दिइसकेको छ । यी पहलहरूले दिगो विकास लक्ष्य (SDG) हासिल गर्न सरकारको प्रयासलाई बल पुर्याइरहेका छन् ।
विश्वका प्रमुख वित्तीय सेवा प्रदायक कम्पनीहरूमध्ये एक हो, जसले बीमा, एन्युटी, कर्मचारी लाभ योजना र सम्पत्ति व्यवस्थापनका सेवा प्रदान गर्छ । सन् १८६८ मा स्थापना भएको मेटलाइफ हाल ४० भन्दा बढी देशमा सञ्चालनमा छ ।
नेपालमा मेटलाइफ सन् २००१ देखि सञ्चालनमा छ र यसले व्यक्तिगत तथा संस्थागत ग्राहकहरूलाई जीवन, दुर्घटना, स्वास्थ्य र सामूहिक बीमा योजनाहरू उपलब्ध गराउँदै आएको छ ।
“डाटासँगै जीवन बीमा” योजना डिजिटल युगमा वित्तीय सुरक्षातर्फको नयाँ अध्याय हो । यसले एनसेलका लाखौं ग्राहकहरूलाई सुलभ मूल्यमा बीमा पहुँच दिलाउने मात्र होइन, देशभर बीमाको अवधारणालाई सर्वसाधारणमा लोकप्रिय बनाउने अपेक्षा गरिएको छ । एनसेल र मेटलाइफको यो सहकार्यले डिजिटल बीमा नवप्रवर्तनमा नयाँ इतिहास रच्ने विश्वास गरिएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे