
काठमाडौँ । सरकारले जेन–जी आन्दोलनका क्रममा घाइते र मृतक परिवारका लागि राहत तथा भैपरी खर्चका रूपमा उल्लेखनीय रकम वितरण थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रारम्भिक प्रतिवेदनअनुसार हालसम्म ४८ लाख ५८ हजार रुपैयाँ वितरणका लागि पठाइएको छ। प्रत्येक घाइतेलाई २० हजार रुपैयाँका दरले यो सहयोग प्रदान गरिँदैछ। पहिलो चरणमा झापा, मोरङ, सुनसरी, काठमाडौं, ललितपुर, कास्की, सुर्खेत, कैलाली र डडेलधुरा जिल्लामा रकम पठाइएको गृह मन्त्रालयले जनाएको छ।
मन्त्रिपरिषद्को असोज १२ गतेको निर्णयअनुसार प्राविधिक समितिले घाइतेहरूको वर्गीकरण गरी राहत वितरण अघि बढाएको हो। हालसम्म स्वास्थ्य मन्त्रालयले २,४२९ जना घाइतेको विवरण गृह मन्त्रालयमा उपलब्ध गराएको छ। पुनः उपचारका लागि ‘जेनजी क्लिनिक’ सञ्चालनमा ल्याइएको र घाइतेहरूलाई निःशुल्क उपचार तथा यातायात सुविधा पनि उपलब्ध गराइएको छ।
यससँगै, आन्दोलनमा मृत्यु भएका ५३ जनाका परिवारलाई १५ लाख रुपैयाँका दरले राहत र किरिया खर्च पठाइएको छ। तीमध्ये ४९ परिवारले रकम प्राप्त गरिसकेका छन् भने बाँकी चार परिवारलाई रकम हस्तान्तरण प्रक्रिया जारी छ। आन्दोलनका क्रममा मृत्यु भएका कैदीबन्दीलाई भने यो राहत नदिइने स्पष्ट गरिएको छ। अहिलेसम्मको सरकारी विवरणअनुसार जेनजी आन्दोलनमा ७६ जनाको मृत्यु भएको छ, जसमा ५३ नेपाली नागरिक र ३ प्रहरी पनि रहेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे