
काठमाडौँ — एमाले केन्द्रीय कमिटीको बैठकमा भदौ २३ का दिन भएका नानीबाबुहरूको हत्याको जिम्मेवारी कसले लिनुपर्छ भन्ने विषय उठेको छ। अध्यक्ष केपी शर्मा ओलीले गोली चलाउने आदेश आफूले नदिएको दाबी गरिरहेका बेला केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाले बैठकमा ओलीसहित नेतृत्वको नैतिक जिम्मेवारीबारे प्रश्न उठाइन्। शुक्रबार अध्यक्ष ओलीको विशेष प्रतिवेदनमाथि धारणा राख्ने क्रममा तिम्सिनाले नेपाली राजनीतिको मुख्य कार्यभार दलहरूको पुनर्गठन भएको भन्दै त्यसका लागि एमालेको पनि पुनर्गठन महत्त्वपूर्ण भइसकेको बताएकी छन् । उनले साना बालबालिकाको हत्या, खर्बौंको सम्पत्तिमा आगलागी र पार्टी अभ्यासका नतिजाबारे लेखाजोखा गर्नुपर्ने बताइन्।
बैठकमा भनिन्– ‘अब हाम्रो अध्यक्षले राजीनामा गरेर मुलुकको राजनीतिक गतिरोधको ढोका खोल्नुपर्छ ।’ उनले यही संरचना लिएर चुनाव वा आन्दोलनमा जानै नसकिने भन्दै अध्यक्ष ओलीले बिदा लिएर अभिभावक बन्ने बित्तिकै देशभर सकारात्मक सन्देश जाने विश्वास व्यक्त गरिन् ।
तिम्सिनाले जेन–जी आन्दोलनपछि युवा पुस्ताले परीक्षा लिएको बताउँदै पार्टीको टेस्टेड नेतृत्वले उनीहरूको माग बिर्सिन नहुने बताइन्। उनले एमालेको पुनर्गठन आवश्यक रहेको र वर्तमान संरचनाले चुनाव वा आन्दोलनमा काम नलाग्ने पनि जोड दिइन्।
बैठकमा नेता ठाकुर गैरेले पनि नेतृत्व हस्तान्तरण गर्नुपर्ने माग राख्दै भने, “बाम–लोकतान्त्रिक सरकार ढलेको अवस्थामा पार्टी रुपान्तरणको मागलाई नेतृत्व बिरोधको रूपमा नहेर्नुपर्छ।” यसरी बैठकमा पार्टी नेतृत्व र जवाफदेहिताबारे तीव्र बहस भएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे