
काठमाडौं । काठमाडौं महानगरपालिकाले डिजिटल प्रविधिमा आधारित एनएफसी (NFC) चिप प्रविधि सहितको ठेगाना प्रणाली सुरु गरेको छ। यस प्रणालीको प्रयोगले महानगर क्षेत्रभित्र सेवा प्रवाहलाई स्मार्ट, छिटो र व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।
नवीनतम प्रविधिमा आधारित यस प्रणालीले ठेगाना खोज्न, राजस्व संकलन, फोहर व्यवस्थापन, सर्वेक्षण र आपतकालीन उद्धार जस्ता कार्यलाई सहज बनाउनेछ। घरको नम्बर प्लेटमा राखिएको क्युआर (QR) कोड स्क्यान गरी आगन्तुकले सोही प्रणालीमार्फत डोरबेलको रुपमा प्रयोग गर्न सक्ने व्यवस्था मिलाइएको छ।
यसका अतिरिक्त, फोहर संकलनको जानकारी दिन, स्थानीय स्तरबाट आवश्यक सूचना प्रवाह गर्न तथा कुनै सर्वेक्षण सञ्चालन गर्न यो प्रविधि निकै उपयोगी हुने बताइएको छ। कम लागतमै छिटो काम गर्ने क्षमताका कारण यसलाई स्मार्ट सिटीको महत्वपूर्ण आधार मानिएको छ।
आपतकालीन अवस्थामा पनि यो प्रणाली निकै सहयोगी हुने अपेक्षा गरिएको छ। प्रकोप, दुर्घटना वा विपद्को समयमा तत्काल स्थान पत्ता लगाई उद्धार टोलीलाई छिट्टै घटना स्थलमा पुग्न मद्दत गर्ने यस प्रविधिको मुख्य विशेषता रहेको महानगरले जनाएको छ।
काठमाडौं महानगरपालिकाले प्रविधिमुखी सेवा विस्तार गर्दै नागरिकलाई स्मार्ट जीवनशैलीतर्फ लैजान र सरकारी सेवा सहज बनाउन डिजिटल प्रविधिको प्रयोगलाई प्राथमिकतामा राखेको जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे