
काठमाडौं ।हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेडबाट ‘ए प्लस’ (IRN A+ (Issuer)) इश्युअर रेटिङ प्राप्त गरेको छ। यस रेटिङले कम्पनीको वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमतामा पर्याप्त सुरक्षा रहेको प्रमाणित गर्छ, जसले बीमा बजारमा कम्पनीप्रति लगानीकर्ताको भरोसा थप मजबुत बनाउने अपेक्षा गरिएको छ।
यो रेटिङ कम्पनीको विगतको सञ्चालन अनुभव, पूँजी संरचना, बजार हिस्सेदारी, सञ्चालकहरूको क्षमता र सञ्चालनको विविध पक्षको विश्लेषणमा आधारित छ। सन् २०२३ (वि.सं. २०८०) को जेठमा प्राइम, गुराँस र युनियन लाइफ इन्स्योरेन्स गाभिएर निर्माण गरिएको यो संयुक्त संस्था अहिले नेपालको प्रमुख जीवन बीमा कम्पनीको रूपमा दरिएको छ।
गाभिएपछि कम्पनीको पूँजी आधार उल्लेखनीय रूपमा विस्तार भएको छ, जसले वित्तीय जोखिम व्यवस्थापनमा बलियो आधार बनाएको देखिन्छ। साथै, कम्पनीको कुल सम्पत्ति, सञ्चालनको भौगोलिक फैलावट र बजार हिस्सामा उल्लेख्य वृद्धि भएको छ। कम्पनी हाल देशभर ७ वटै प्रदेशमा फैलिएको २०९ शाखामार्फत सेवा दिइरहेको छ, जसमध्ये ८४ मुख्य र १२५ उपशाखा छन्।
बिक्री संरचना हेर्दा कम्पनीसँग १२९ वटा कर्पोरेट एजेन्सी र १ लाख ६३ हजार ३९४ जना व्यक्तिगत एजेन्टहरू छन्, जुन तथ्यांक २०२५ अप्रिलसम्मको हो। यसले कम्पनीको व्यापक पहुँच र ग्राहकहरूसम्म सेवा पुर्याउने क्षमतालाई पुष्टि गर्छ।
बीमा कम्पनीको वित्तीय स्थायित्व संकेत गर्ने सॉल्भेन्सी अनुपातमा पनि हिमालयन लाइफ अघि देखिन्छ। नेपाल इन्स्योरेन्स प्राधिकरणले तोकेको न्यूनतम १.३ गुणाको तुलनामा कम्पनीको सॉल्भेन्सी अनुपात ३.८६ गुणा छ। यसले उच्च जोखिममा पनि कम्पनीको दाबी भुक्तानी क्षमता सुदृढ रहेको देखाउँछ।
पुनर्बीमा व्यवस्थापनतर्फ पनि कम्पनी सन्तोषजनक रूपमा अगाडि छ। प्रति पॉलिसी ५ लाख रुपैयाँभन्दा बढीको जोखिम स्वीकृत गरिएको छैन भने, प्राकृतिक प्रकोपसम्बन्धी दाबीका लागि छुट्टै पुनर्बीमा सुविधा गरिएको छ।
प्रवर्द्धकहरूमा लक्ष्मी बैंक लिमिटेड, राजेन्द्र खेतान, पूजा अग्रवाल खेतान र विवेक दुगड जस्ता अनुभवी व्यवसायिक समूहहरू रहेका छन्। कम्पनीमा प्रवर्द्धक र सर्वसाधारणबीचको स्वामित्व क्रमशः ५१% र ४९% को अनुपातमा बाँडिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे