
काठमाडौं, साउन ४ — कामना सेवा विकास बैंक लिमिटेडले नेपाल चार्टड एकाउन्टेन्ट संस्था (आईक्यान) बाट प्रदान गरिने ‘राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड २०२४’ अन्तर्गत वित्तीय सेवा क्षेत्रतर्फको गोल्ड अवार्ड प्राप्त गरेको छ।
आईक्यानले आर्थिक वर्ष २०८०/८१ (२०२३/२४) को वार्षिक प्रतिवेदन मूल्यांकन गर्दै पारदर्शिता, जवाफदेहिता र सुसासनमा बैंकले पुर्याएको योगदानलाई मूल्यांकन गर्दै उक्त अवार्ड प्रदान गरेको हो। उक्त प्रतिवेदन बैंकको १८ औं वार्षिक साधारण सभामा प्रस्तुत गरिने उद्देश्यले तयार गरिएको थियो, जसमा शेयरधनी तथा सरोकारवालाहरूलाई वित्तीय सूचनाहरू उत्कृष्ट ढंगले प्रस्तुत गरिएको थियो।
पुरस्कार वितरण कार्यक्रम राजधानीको होटल र्याडिसनमा सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख अतिथि माननीय महालेखापरीक्षक तोयम रायालले कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिनेश थकालीलाई अवार्ड हस्तान्तरण गरेका थिए।
यस उपलब्धिसँगै बैंकको वार्षिक प्रतिवेदन दक्षिण एसियाली क्षेत्रीय अवार्ड—साफा बीपीए अवार्डमा नेपालको तर्फबाट स्वतः मनोनीत हुने भएको छ।
यसअघि, कामना सेवा विकास बैंकले अघिल्लो वर्ष आईक्यानबाट ‘बीपीए सिल्भर अवार्ड’ तथा साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट (साफा) बाट वित्तीय सेवा क्षेत्रतर्फ प्रदान गरिने ‘सर्टिफिकेट अफ मेरिट’ पनि प्राप्त गरिसकेको थियो।
वित्तीय सेवा क्षेत्रमा यी अवार्डहरूलाई उच्च प्रतिष्ठाको रूपमा लिइने गरिन्छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे