
काठमाडौं । आर्थिक वर्ष २०८१/८२ मा नेपाल सरकारले कुल ११ खर्ब ७८ अर्ब ८२ करोड रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ। अघिल्लो आर्थिक वर्ष २०८०/८१ को तुलनामा यो १ खर्ब २० अर्ब रुपैयाँले बढी हो, जुन ११.३३ प्रतिशतको वृद्धिदर हो।
गत आर्थिक वर्षमा सरकारको प्रारम्भिक राजस्व लक्ष्य १४ खर्ब १९ अर्ब रुपैयाँ तोकिएको थियो। तर अर्धवार्षिक समीक्षापछि उक्त लक्ष्य संशोधन गरी १२ खर्ब ८६ अर्बमा झारिएको थियो। संशोधित लक्ष्यको तुलनामा २०८१/८२ मा कुल लक्ष्यको ९१.६० प्रतिशत राजस्व संकलन गर्न सकिएको अर्थ मन्त्रालयको राजस्व महाशाखाले जनाएको छ।
महाशाखा प्रमुख उत्तरकुमार खत्रीका अनुसार, अन्तर्राष्ट्रिय आर्थिक परिस्थितिमा आएको अस्थिरता र भित्री चुनौतीबीच पनि सन्तोषजनक राजस्व संकलन सम्भव भएको हो। “विगतका तुलनामा प्रगति उत्साहजनक छ,” उहाँले भन्नुभयो, “चालू आर्थिक वर्षको लक्ष्य पनि समयमै पूरा गर्ने गरी तयारी सुरु भइसकेको छ।”
चालू आर्थिक वर्ष २०८२/८३ का लागि सरकारको राजस्व संकलन लक्ष्य १३ खर्ब १५ अर्ब रुपैयाँ तोकिएको छ।
पछिल्ला केही वर्षको राजस्व संकलन विवरण हेर्दा क्रमिक सुधार देखिएको छ। आर्थिक वर्ष २०७१/७२ मा ४ खर्ब ५ अर्ब, २०७२/७३ मा ४ खर्ब ८१ अर्ब, २०७३/७४ मा ६ खर्ब ९ अर्ब, २०७४/७५ मा ७ खर्ब २६ अर्ब, र २०७५/७६ मा ८ खर्ब २९ अर्ब रुपैयाँ राजस्व संकलन भएको थियो। त्यसैगरी, २०७६/७७ मा ७ खर्ब ९३ अर्ब, २०७७/७८ मा ९ खर्ब ३५ अर्ब, २०७८/७९ मा १० खर्ब ६६ अर्ब, २०७९/८० मा ९ खर्ब ५७ अर्ब, र २०८०/८१ मा १० खर्ब ५८ अर्ब रुपैयाँ संकलन भएको सरकारी तथ्याङ्कमा उल्लेख छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे