
बासेल (स्विजरल्याण्ड),एजेन्सी।असार १६ —नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले बैंक फर इन्टरनेशनल सेटलमेन्ट्स (BIS) को ९५औँ वार्षिक बैठकमा सहभागिता जनाएका छन्। स्विजरल्याण्डको बासेलमा जुन २७ देखि २९, २०२५ सम्म आयोजित उक्त बैठकमा विश्वभरका केन्द्रीय बैंकका प्रमुख अधिकारीहरूको सहभागिता रहेको थियो।
सन् १९३० मा स्थापित BIS हाल ६३ वटा केन्द्रीय बैंकहरूको सदस्य संस्था हो, जसले मौद्रिक र वित्तीय स्थायित्व कायम राख्न तथा सदस्य राष्ट्रबीचको सहकार्यलाई सुदृढ गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको छ।
बैठकको दौरान गभर्नर पौडेलले “Cross-Border Payments and the Role of Central Banks” तथा “AI and Central Bank Safety” शिर्षक अन्तरक्रिया कार्यक्रममा सहभागी हुँदै कृत्रिम बौद्धिकता (AI) को प्रयोग र भुक्तानी प्रणालीमा देखिएका चुनौती तथा नीतिगत समाधानहरूबारे धारणा राखे। उनले केन्द्रीय बैंकको भूमिकालाई सुदृढ बनाउने उपायहरूबारे गहिरो छलफलमा समेत भाग लिएका थिए।
बीआईएसका महाप्रबन्धक अगस्टिन कार्सटेन्ससँग गभर्नर पौडेलले विशेष भेटवार्ता गर्दै नेपाल राष्ट्र बैंकसँग सहकार्य गर्न सकिने संभावनाहरूबारे छलफल गरेका थिए। सो अवसरमा विदेशी विनिमय सञ्चिति (Foreign Exchange Reserves) मा सुन खरिद, नयाँ लगानी उपकरणहरूको उपयोग र सञ्चिति व्यवस्थापनबाट प्रतिफल बढाउने उपायहरूबारे कुराकानी भएको थियो।
बैठकको क्रममा गभर्नर पौडेलले भारतीय रिजर्व बैंकका गभर्नर सञ्जय मल्होत्रासँग समेत भेटघाट गरेका थिए। भेटमा द्विपक्षीय बैंकिङ सहकार्य, भुक्तानी प्रणाली सुधार र जनशक्ति विकासमा निरन्तर समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो।
त्यसैगरी, उनले एशियन डेभलपमेन्ट बैंक (ADB) का गभर्नर असेल न्यालेन्जबेलनसँग पनि भेट गर्दै द्विपक्षीय सहयोग, बैंकिङ कारोबार सहज बनाउने र साझा परियोजनाहरूमा सहकार्य विस्तार गर्ने विषयमा छलफल गरेका थिए।
उक्त भ्रमणमा गभर्नरसँगै बैंक तथा वित्तीय संस्था नियमन विभागका निर्देशक गोविन्दप्रसाद नागिला र गभर्नर कार्यालयका निर्देशक तथा सञ्चालक समितिका सचिव शरणकुमार अधिकारीको पनि सहभागिता रहेको थियो।
बीआईएसको बैंकिङ विभागका प्रमुख लुइस बेङ्गोचा नेतृत्वमा भएको बैठकमा पनि नेपाल राष्ट्र बैंकको प्रतिनिधिमण्डलले विनिमय सञ्चिति विविधीकरण र अन्तर्राष्ट्रिय लगानी अवसरका विषयमा गहिरो छलफल गरेको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे