
काठमाडौं ।पत्रकार दिलभूषण पाठकले आफ्नो नाममा जारी गरिएको पक्राउ पुर्जी कार्यान्वयनमा रोक लगाउन उच्च अदालत पाटनमा सोमबार निषेधाज्ञा (interim order) को माग गर्दै निवेदन दर्ता गरेका छन्।
उक्त निवेदन उच्च अदालत पाटनका न्यायाधीश ऋषिराज भण्डारीको एकल इजलासमा सुनुवाइको लागि तय गरिएको छ। अदालत स्रोतका अनुसार पाठकको निवेदन न्यायाधीश भण्डारीको इजलासमा १२औं नम्बरमा सूचीबद्ध छ।
जिल्ला अदालत काठमाडौंले पक्राउका लागि जारी गरेको आदेशविरुद्ध पाठकले न्यायिक संरक्षण खोजेका हुन्।
उक्त पुर्जीको पृष्ठभूमिमा उनले आफ्नै युट्युब च्यानलमार्फत नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीर देउवाले हिल्टन होटल खरिद गरेको भन्ने विषयमा सामग्री प्रसारण गरेका थिए। सो प्रसारणपछि जयवीर देउवाले आफूविरुद्ध “निराधार र कपोकल्पित” आरोप सार्वजनिक गरिएको भन्दै साइबर अपराध अन्तर्गत प्रहरीमा उजुरी दिएका थिए।
जयवीरको उजुरीका आधारमा प्रहरी अनुसन्धान अघि बढाइएको र त्यसैअनुसार जिल्ला अदालतले पाठकको नाममा पक्राउ आदेश जारी गरेको हो।
यस घटनाप्रति सञ्चार क्षेत्रका विभिन्न संघसंस्थाहरूले गम्भीर चासो व्यक्त गरेका छन्। उनीहरूले पत्रकार पाठकविरुद्ध जारी गरिएको पक्राउ आदेश तत्काल स्थगन गर्न माग गर्दै पत्रकारिता स्वतन्त्रताको संरक्षण गर्न सरकारलाई आग्रह गरेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे