
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साता तीनवटा अन्तर्राष्ट्रिय भ्रमण गर्ने तय भएको छ। प्रधानमन्त्री ओलीले सर्वप्रथम असार १६ देखि १९ गतेसम्म (जुन ३०–जुलाई ३) स्पेनको सेभिलमा आयोजना हुने चौथो संयुक्त राष्ट्रसंघीय विकासका लागि वित्तीय सहयोग सम्मेलनमा सहभागिता जनाउने भएका छन्।
परराष्ट्र मन्त्रालयले सम्मेलनमा सहभागी हुनका लागि आवश्यक कूटनीतिक तयारी पूरा गरिरहेको जनाएको छ। सम्मेलनमा विश्वका राष्ट्रप्रमुख, सरकारी अधिकारी, अन्तर्राष्ट्रिय संस्था, निजी क्षेत्र, नागरिक समाज लगायतका प्रतिनिधिहरूको उपस्थिति रहनेछ। सम्मेलनमा दिगो विकासका लागि वित्तीय सहकार्यको सम्भावनाबारे व्यापक छलफल हुने कार्यक्रम रहेको छ।
स्पेन भ्रमणसँगै द्विपक्षीय भेटवार्ता सम्भावना
प्रधानमन्त्रीको स्पेन भ्रमणको क्रममा स्पेन सरकारसँग द्विपक्षीय भेटवार्ता तथा सहमतिहरूको आदानप्रदान हुने सम्भावना पनि रहेको परराष्ट्र स्रोतले जनाएको छ। यद्यपि, स्पेनले प्रधानमन्त्रीको द्विपक्षीय भ्रमणबारे औपचारिक सहमति अझै नदिएको मन्त्रालयले स्पष्ट पारेको छ।
भारत भ्रमणका लागि प्रारम्भिक तयारी
स्पेन भ्रमणपछि प्रधानमन्त्री ओलीले भारत भ्रमण गर्ने सम्भावना प्रबल रहेको छ। स्रोतहरूका अनुसार प्रधानमन्त्रीको भारत भ्रमण साउनको दोस्रो हप्ता (लगभग जुलाई मध्यतिर) मा हुने सम्भावना छ। प्रधानमन्त्री कार्यालय, परराष्ट्र मन्त्रालय तथा भारतस्थित नेपाली दूतावासको समन्वयमा भ्रमणको तयारी थालिएको छ। भारतीय पक्षबाट पनि सकारात्मक संकेतहरू प्राप्त भएकाले भ्रमणको सम्भावना बलियो बनेको एक अधिकारीले जनाए।
पहलगाममा भएको आतंकवादी आक्रमण र भारत–पाकिस्तान तनावका कारण प्रधानमन्त्रीको भारत भ्रमण केही समयका लागि स्थगित गरिएको थियो। तर अहिले द्विपक्षीय समन्वय पुनः सुरु भएको र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रधानमन्त्री ओलीको हालसम्म दुईपटक भेट भइसकेको परिप्रेक्ष्यमा भ्रमण सकारात्मक ढंगले अगाडि बढ्ने देखिएको छ।
प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले स्पेन भ्रमणबारे आफू जानकार रहेको तर भारत भ्रमणको विषयमा निर्णय भइनसकेको प्रतिक्रिया दिएका छन्।
तुर्कमेनिस्तान भ्रमण पनि तय
प्रधानमन्त्री ओलीले युरोप र दक्षिण एसियाको भ्रमणसँगै मध्य एशियाली मुलुक तुर्कमेनिस्तानको पनि भ्रमण गर्ने भएका छन्। आगामी साउन २०–२३ (अगस्ट ५–८) मा तुर्कमेनिस्तानमा आयोजना हुने भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको तेस्रो सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री सहभागी हुनेछन्।
संयुक्त राष्ट्रसंघको छातामुनि सञ्चालन हुने यो सम्मेलनमा नेपालले निरन्तर सहभागीता जनाउँदै आएको छ। नेपालजस्तै भूपरिवेष्ठित र विकासशील मुलुकहरूको हितमा केन्द्रित सम्मेलनलाई नेपालले विशेष प्राथमिकता दिँदै आएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे