
काठमाडौं ।सशस्त्र प्रहरी बलमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)को एक पद महिनादिनदेखि रिक्त छ, तर अझैसम्म बढुवा प्रक्रिया अघि बढ्न सकेको छैन। एआइजी चन्द्रप्रकाश गौतम सेवा अवकाशमा गएपछि रिक्त भएको उक्त पदमा हालसम्म पनि पूर्ति नहुनु नेतृत्व तहको निष्क्रियता तथा बढ्दो चलखेलको संकेतको रूपमा हेरिएको छ।
गौतम ३० वर्षे सेवा अवधि पूरा गरी वैशाख २ गते अवकाशमा गएका थिए। त्यसपछिको बढुवा प्रक्रिया सशस्त्र प्रहरी नियमावली, २०७२ अनुसार अघि बढाइने भनिए पनि गृहमन्त्रालयको नेतृत्वमा बस्ने बढुवा समितिको बैठक अझैसम्म बसेको छैन।
बढुवा समितिले वैशाख १४ गते एक साताका लागि सूचना प्रकाशित गरी योग्य डिआइजीहरूसँग आवेदन मागेको थियो। वैशाख २१ गते आवेदन दिने म्याद सकिएको भए पनि २० दिनसम्म पनि बढुवा प्रक्रिया निष्क्रिय रहनुले प्रश्न उठाएको छ।
गृह मन्त्रालय स्रोतका अनुसार, “बढुवाको विषयमा नेतृत्व तहमा छलफल नै सुरु भइसकेको छैन,” भन्दै ढिलाइका कारण चलखेल बढ्ने वातावरण बनिरहेको जनाएको छ।
सूचनामा आधारित सूची अनुसार १० जना डिआइजीहरूले एआइजीका लागि आवेदन दिएका छन् —
कमल गिरी, गणेश ठाडामगर, शम्भु सुवेदी, कुलबहादुर नेम्वाङ, कुमार न्यौपाने, कालीदास धौबजी, लक्ष्मण सिंह, प्रदीपकुमार पाल, सुरेश श्रेष्ठ र अञ्जनीकुमार पोखरेल।
उक्तमध्ये गिरी, ठाडामगर, सुवेदी र नेम्वाङ २०५६ सालमा प्रहरी निरीक्षकको रुपमा प्रवेश गरी पछि सशस्त्रमा स्थानान्तरण भएका अधिकृत हुन्। उनीहरू २०७७ पुस ३ गते एसएसपीबाट डिआइजीमा बढुवा भएका थिए। वरीयतामा गिरी पहिलो, ठाडामगर दोस्रो र नेम्वाङ तेस्रो नम्बरमा छन्।
सशस्त्र प्रहरी बलमा कार्यसम्पादन मूल्यांकनका आधारमा बढुवा गरिनुपर्ने व्यवस्था छ। कार्यसम्पादन ४० अंक, ज्येष्ठता २०, कार्यक्षेत्र, शैक्षिक योग्यता, तालिम, विशेष जिम्मेवारी तथा विभूषणसम्बन्धी विभिन्न सूचकांक अनुसार मूल्यांकन हुने नियम छ। यद्यपि हालसम्म प्रक्रिया अगाडि नबढ्दा पारदर्शिता र निष्पक्षतामाथि आशंका बढेको छ।
हाल सशस्त्र प्रहरी बलमा दुई एआइजी — नारायणदत्त पौडेल र वंशी दाहाल — रहेका छन्। आइजिपी राजु अर्याल २०८३ वैशाखमा अवकाशमा जानुहुनेछ। त्यसपश्चात् नेतृत्वको दौडमा पौडेल र दाहाल रहेका छन् भने हाल रिक्त एआइजी पदमा बढुवा हुने डिआइजीहरू भविष्यको नेतृत्व दाबेदार हुनेछन्।
नेपाल प्रहरीमा रिक्त एआइजी पदमा भने समयमै बढुवा प्रक्रिया अघि बढाइएको थियो। एआइजी लालमणि आचार्यको अवकाशअघि नै डिआइजी सिद्धिबिक्रम शाहको बढुवा सिफारिस भइसकेको थियो।
तर सशस्त्र प्रहरी बलमा भने महिनादिनसम्म रिक्त रहेको एआइजी पद अझै अपूरो रहनु संस्थागत सुशासन र कार्यसम्पादन व्यवस्थामाथि प्रश्न खडा गर्दैछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे