
गृहमन्त्री रमेश लेखकले आज प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने भएका छन्। पूर्वसांसद तथा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई वैशाख १७ गते पक्राउ गरिएको घटनालाई लिएर मंगलबार नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीका सांसदहरूले कडा विरोध जनाएका थिए।
सभामुख देवराज घिमिरेले सांसदहरूको विरोधपछि गृहमन्त्रीले आजको बैठकमा जवाफ दिने प्रतिबद्धता जनाएका हुन्। प्रधानमन्त्री र गृहमन्त्रीले जवाफ नदिए नीति तथा कार्यक्रममाथिको छलफल अघि नबढाउने अडान सांसदहरूले राखेपछि आज गृहमन्त्रीको वक्तव्यका लागि समय तोकिएको हो।
नागरिक उन्मुक्ति पार्टीले चौधरीको पक्राउ प्रकरणको निष्पक्ष छानबिन गर्न माग गर्दै आएको छ। सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टले चौधरीलाई पक्राउ गरी कारागार चलान गर्न पत्र जारी गरेपछि उनलाई प्रहरीले पक्राउ गरेको थियो। तर, उक्त पत्र नक्कली भएको भन्दै सर्वोच्चले तत्काल रिहा गर्न डिल्लीबजार कारागारलाई आदेश दिएको थियो।
गृहमन्त्रीको सचिवालयका अनुसार लेखकले वैशाख १२ गतेदेखि २३ गतेसम्म सांसदहरूले उठाएका, गृह मन्त्रालयको कार्यक्षेत्रसँग सम्बन्धित विषयमा जवाफ दिने कार्यक्रम तय गरिएको छ।
गत शुक्रबार सरकारको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत भइसकेको छ र सो विषयमा छलफल पनि जारी रहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे