
काठमाडौँ । बिहारबाट दिल्ली जाँदै गरेको यात्रुबाहक बसमा आगलागी हुँदा २ बालबालिकासहित ५ जनाको ज्यान गएको छ। दुर्घटना बिहीबार बिहान करिब ४ बजे भएको बताइएको छ। आगलागीको कारण हालसम्म स्पष्ट नभए पनि प्रारम्भिक अनुमान अनुसार विद्युत सर्ट भएको आशंका गरिएको छ।
बसमा करिब ५० जना यात्रु सवार थिए। आगो लागेपछि बसमा अफरातफरी मच्चिएको थियो। धेरै यात्रुहरूले झ्याल तोडेर भागेका थिए, तर पाँच जना भने आगोबाट ज्यान जोगाउन सकेनन्। मृतकमध्ये दुई बालबालिका, एक महिला र दुई पुरुष रहेको स्थानीय प्रशासनले पुष्टि गरेको छ।
घाइतेहरूलाई नजिकैको अस्पतालमा भर्ना गरिएको छ। केहीको अवस्था गम्भीर रहेको र थप उपचारका लागि पटना रिफर गरिएको बताइएको छ। आगलागीपछि घटनास्थलमा पुगेको दमकल टोलीले करिब एक घण्टाको प्रयासपछि आगो नियन्त्रणमा लिएको थियो।
प्रहरी र प्रशासनले घटनाको विस्तृत छानबिन थालेको छ। यात्रुहरूका अनुसार बसमा सुरुमा धुवाँ निस्कन थालेको थियो, त्यसपछि केही मिनेटमै आगो सल्किएको थियो। घटनाले स्थानीय क्षेत्र र यात्रु परिवारमा शोक छाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे