
एजेन्सी, — जेनेभामा सम्पन्न दुईदिने वार्तापछि अमेरिका र चीनबीच व्यापार सम्झौताको घोषणा गरिएको छ। यद्यपि, सम्झौतासम्बन्धी विस्तृत विवरण सार्वजनिक गरिएको छैन।
वार्ताको सुरुवातअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथिको भन्सार दर हालको १४५ प्रतिशतबाट घटाएर ८० प्रतिशतमा झार्ने संकेत गरेका थिए। उनले इन्टरनेटमार्फत एक सन्देश प्रकाशित गर्दै भने, “संयुक्त राज्य अमेरिका र चीनबीचको व्यापार वार्तामा उल्लेखनीय प्रगति भएको छ,” र यसमा अमेरिकी प्रतिनिधि स्कट बेसान्टको भूमिका निर्णायक रहेको संकेत गरे।
अमेरिका–चीन व्यापार सम्बन्धमा पछिल्लो समय उच्च भन्सार दरका कारण तनाव चुलिएको थियो। विश्वका दुई ठूला अर्थतन्त्रबीच करिब १०० प्रतिशतभन्दा बढी भन्सार दर लागू भएपछि यो विषयले वैश्विक अर्थतन्त्रमा पनि प्रभाव पारेको थियो। यसै सन्दर्भमा चिनियाँ उपप्रधानमन्त्री हे लाइफेङ, अमेरिकी अर्थमन्त्री स्कट बेसान्ट, र अमेरिकी व्यापार प्रतिनिधि जेमसन ग्रीरबीच प्रत्यक्ष भेटवार्ता भएको हो।
शनिबार आठ घण्टा र आइतबार तीन घण्टा सघन वार्तापछि, दुवै पक्षबाट व्यापार युद्ध टार्ने उपायबारे सकारात्मक संकेत आएको छ। ह्वाइट हाउसका आर्थिक सल्लाहकार केभिन ह्यासेटका अनुसार चीन अमेरिकासँग वार्ता गर्न अत्यन्त इच्छुक रहेको छ र सम्बन्ध सन्तुलनमा राख्न पहल गरिरहेको छ।
राष्ट्रपति ट्रम्पले पनि वार्ताको सकारात्मक मूल्याङ्कन गर्दै दुवै पक्षबीच मैत्रीपूर्ण र रचनात्मक संवाद भएको बताएका छन्। अमेरिकी अधिकारीहरूका अनुसार, चीनसँग मात्र होइन, अन्य मुलुकहरूसँग पनि यसै हप्ता नयाँ विदेशी व्यापार सम्झौताहरू हुन सक्ने संकेत मिलेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे