
काठमाडौँ — चालु आर्थिक वर्षको पहिलो नौ महिनामा नेपालमा विप्रेषण आप्रवाह उल्लेखनीय रूपमा वृद्धि भएको पाइएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो आर्थिक समीक्षा अनुसार सो अवधिमा विप्रेषण आप्रवाह रु ११ खर्ब ९१ अर्ब ३१ करोड पुगेको थियो। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १० प्रतिशतले बढी हो।
अघिल्लो वर्ष सोही अवधिमा यो वृद्धिदर १७ दशमलव २ प्रतिशत रहेको थियो। अमेरिकी डलरमा मूल्यांकन गर्दा, विप्रेषण प्रवाह ७.३ प्रतिशतले वृद्धि भएर ८ अर्ब ७४ करोड अमेरिकी डलर पुगेको थियो, जुन अघिल्लो वर्ष १५.२ प्रतिशतले वृद्धि भएको थियो।
राष्ट्र बैंकको विवरणमा समीक्षा अवधिमा नेपालले प्राप्त गरेको खुद द्वितीय आय (खुद ट्रान्सफर) रु १३ खर्ब १ अर्ब ९४ करोड पुगेको उल्लेख गरिएको छ। अघिल्लो वर्षको सोही अवधिमा यो रकम रु ११ खर्ब ७४ अर्ब ५४ करोड मात्र रहेको थियो।
त्यस्तै, वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (नयाँ) लिने नेपालीको सङ्ख्या तीन लाख ५८ हजार २२२ पुगेको थियो भने पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या दुई लाख ४९ हजार ६५२ रहेको पाइएको छ।
राष्ट्र बैंकका अनुसार, यो तथ्याङ्कले नेपालमा वैदेशिक रोजगारी र विप्रेषण दुबै क्षेत्र सशक्त रूपमा क्रियाशील रहेको संकेत गर्छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे