
भैरहवा– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्गदेनले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल र पोखरा अन्तरराष्ट्रिय विमानस्थल ठोस व्यावसायिक योजना विना निर्माण गरिएको आरोप लगाएका छन्।
सिद्धार्थ उद्योग वाणिज्य सङ्घ, रूपन्देहीले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्गदेनले भ्रष्टाचार र सञ्चालन समस्यालाई एकसाथ सम्बोधन गर्नुपर्ने आवश्यकतामा जोड दिएका थिए। उनले मुआब्जा वितरणमा देखिएको अनियमितताका संकेत गर्दै अत्यधिक मूल्यमा आवश्यकताभन्दा बढी जग्गा अधिग्रहण गरिएको दाबी गरेका थिए।
उनले ४१ अर्ब रुपैयाँ लगानीमा निर्माण गरिएको विमानस्थल अझै सञ्चालनमा नआएकोप्रति चिन्ता व्यक्त गर्दै यसबारे संसद्मा समेत छलफल भएको जानकारी गराएका थिए। सार्वजनिक लेखा समितिअन्तर्गतको छानबिन उपसमितिले यस विषयमा आवश्यक छानबिन सम्पन्न गरी प्रतिवेदन पनि तयार पारिसकेको उनले उल्लेख गरेका थिए।
लिङ्गदेनले प्राविधिक कारणले पोखरा विमानस्थल सञ्चालनमा कठिनाइ रहे पनि भैरहवा विमानस्थल सहजै सञ्चालनमा ल्याउन सकिने बताए। श्रम, मेनपावर, भिसा केन्द्रजस्ता पूर्वाधार सरकारी निर्णयमार्फत नै भैरहवा ल्याउन सकिने भएकाले यसतर्फ सरकारको ध्यानाकर्षण गराउने प्रतिबद्धता पनि उनले जनाएका थिए।
कार्यक्रममा सहभागी अन्य वक्ताहरूले पनि विमानस्थल सञ्चालनको विषयमा स्थानीय जनताले पटकपटक पहल गरे पनि सफल हुन नसकेको भन्दै निराशा व्यक्त गरेका थिए।
सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नेत्रप्रसाद आचार्यले राजनीतिक हस्तक्षेपकै कारण विमानस्थल निर्माण भएको उल्लेख गर्दै उद्योगी व्यवसायीको करिब ८० अर्ब रुपैयाँ लगानी जोखिममा परेको बताए।
महासङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले विमानस्थल निर्माणअघि व्यावसायिक सम्भाव्यता अध्ययन नगरीकन निर्णय गरिएको देखिएको धारणा राखेका थिए।
सङ्घका पूर्वअध्यक्ष ठाकुरकुमार श्रेष्ठले भ्रष्टाचारभन्दा विमानस्थल सञ्चालनको विषय महत्वपूर्ण रहेको उल्लेख गर्दै त्यसलाई ओझेलमा पार्न भ्रष्टाचारको मुद्दा उब्जाइएको हुन सक्ने अनुमान व्यक्त गरेका थिए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे