
काठमाडौँ, चैत १७ । आज संघीय संसद्अन्तर्गतका दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) को बैठक बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्नेछ भने राष्ट्रियसभाको बैठक दिउसो १.१५ बजे बस्नेछ ।
प्रतिनिधिसभा बैठकमा बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक २०८० का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने कार्यसूची रहेको छ । पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले ‘जलश्रोत विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेस गर्नुहुनेछ ।
यसैगरि महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साहले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) पहिलो संशोधन विधेयक २०८१ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने र सो विधेयक प्रस्तुत गर्ने, संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले राष्ट्रियसभामा उत्पत्ति भएको ‘नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले ‘निकासी पैठारी (नियमन) विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहितको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक २०७९ माथि छलफलका लागि प्रस्ताव प्रस्तुत गर्ने र सो प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची समेत रहेको छ ।
राष्ट्रियसभा बैठकका लागि भने आजका निम्ति कार्यसूची तय गरिएको छैन ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे