
काठमाण्डौ। बैठकको आकस्मिक समयमा सांसद माधव सापकोटाले सोमबार राति ११ बजे काठमाडौंको टोखा नगरपालिका–२ झोरबाट नेपाल प्रहरीले करिब रु २५ करोड अवैध रकमसहित गाडी बरामद गरेको घटनाको गम्भीरतापूर्वक र निष्पक्ष छानबिन गर्न माग गरे।
उक्त रात उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले नगदसहित एक व्यक्तिलाई पक्राउ गरेको थियो। झोर महाकाल क्षेत्रबाट ना १ ख १६५२ नम्बरको ट्रकसहित चालकलाई नियन्त्रणमा लिइएको जनाइएको छ।
सांसद सापकोटाले भने, “डलर र युरो गरी करिब रु २५ करोड अवैध रकम बरामद भएको समाचार बाहिर आएको छ। यस घटनाले सिङ्गो देशलाई तरङ्गित बनाएको छ। यो घटनाले सङ्गठित अपराध र तस्करीको जालो कुन स्तरसम्म फैलिएको छ भन्ने स्पष्ट हुन्छ।”
सांसद रोशन कार्कीले भने, “हिजो मात्रै डलर र युरो गरी रु २५ करोड बोकेको ट्रक बरामद भएको छ। के नेपाल तस्करहरूको ‘ट्रान्जिट पोइन्ट’ बनेको हो?” उनले मुलुक दिनप्रतिदिन तस्करहरूको जालोमा फसिरहेको भन्दै अपराधसम्बन्धी घटनामा निष्पक्ष छानबिन गर्न माग गरे।
त्यसैगरी, सांसद सुमना श्रेष्ठले सरकारलाई शिक्षा क्षेत्रलाई गम्भीरतापूर्वक लिनुपर्ने सुझाव दिइन्। उनले मधेस प्रदेशमा एसईई परीक्षा स्थगित हुनुको कारणबारे सरकारबाट स्पष्ट जानकारी दिनुपर्ने माग गरिन्।
स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा राजनीतिक दलहरूको हस्तक्षेपले विश्वविद्यालयको अध्ययन प्रभावित भएको सांसद श्रेष्ठको भनाइ छ। उनले विद्यार्थीको पढ्न पाउने अधिकार सुनिश्चित गर्न आग्रह गर्दै यस विषयमा आरोप–प्रत्यारोप भन्दा समाधान खोज्नुपर्ने बताइन्।
सांसद रामकृष्ण यादवले देशमा शान्ति सुरक्षाको आवश्यकताप्रति सरकारको ध्यानाकर्षण गराए। सांसद रामकुमार राईले खोटाङ जिल्लामा चैत ४ गते भएको आगलागीबारे सरकारको ध्यानाकर्षण गराए। सांसद रामहरि खतिवडा र मुक्ताकुमारी यादवले मुलुकका समसामयिक विषयहरूमा सरकारको ध्यानाकर्षण गराए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे