
काठमाडौं । नेपाल टेलिकमले चलचित्र क्षेत्रकी ख्यातिप्राप्त अभिनेत्री स्वस्तिमा खड्कालाई आफ्नो ब्रान्ड एम्बेसडरको रूपमा नियुक्त गरेको छ। कम्पनीको केन्द्रीय कार्यालयमा सोमबार आयोजित एक समारोहका बीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो।
नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) र अभिनेत्री खड्काले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। सो अवसरमा प्रबन्ध निर्देशक पहाडीले नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकारसँगको सहकार्यले टेलिकमका सेवाहरूको प्रवर्द्धन र बजारीकरणमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरेकी थिइन्। साथै, उनले कम्पनीसँगको सहकार्यका लागि अभिनेत्री खड्काप्रति आभार प्रकट गरेकी थिइन्।
ब्रान्ड एम्बेसडरको रूपमा नियुक्त भएपछि अभिनेत्री खड्काले नेपाल टेलिकमजस्तो प्रतिष्ठित संस्थासँग आबद्ध हुन पाउँदा खुसी व्यक्त गर्दै कम्पनीको हितमा प्रभावकारी रूपमा भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएकी छिन्।
सम्झौताअनुसार ब्रान्ड एम्बेसडरले नेपाल टेलिकमका सेवाहरूको प्रचारप्रसार, व्यापार प्रवर्द्धन तथा ब्रान्ड संरक्षणसम्बन्धी कार्यमा संलग्न रहनेछिन्। प्रारम्भमा एक वर्षका लागि भएको सम्झौता दुबै पक्षको आपसी सहमतिमा थप गर्न सकिने व्यवस्था समेत गरिएको छ।
नेपाल टेलिकमले सफल र लोकप्रिय अभिनेत्रीको संलग्नताबाट ग्राहकवर्गलाई कम्पनीका सेवासुविधाबारे सहज जानकारी प्रदान गर्न सकिने तथा आफ्ना सेवाहरूको प्रवर्द्धन गर्दै व्यापक रूपमा विस्तार गर्न मद्दत पुग्ने अपेक्षा गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे