
काठमाडौं। कामना सेवा विकास बैंकले शुक्रबार कैलाली उद्योग वाणिज्य संघअन्तर्गत धनगढीमा उद्योगी व्यवसायीहरूको लागि बैंकिङ एण्ड बिजनेस कन्क्लेभ कार्यक्रम सम्पन्न गरेको छ। यो कार्यक्रम व्यवसायी र बैंकबीचको दूरीलाई घटाउने उद्देश्यले आयोजना गरिएको थियो र यसमा धनगढीका १२० भन्दा बढी व्यवसायीहरूले सहभागिता जनाएका थिए। पत्रकार महासंघ सुदूरपश्चिमका महासचिव शिवराज भट्टले कार्यक्रमको मध्यस्तता गरेका थिए।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका धनगढी स्थित उपनिर्देशक हरिशचन्द्र ढकाल, कामना सेवा विकास बैंकका नायव प्रमुख कार्यकारी अधिकृत विनय दाहाल, एफसिए उमेश राज पाण्डेय, र कैलाली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुष्कर राज ओझा वक्ताका रुपमा उपस्थित थिए।
नेपाल राष्ट्र बैंकका उपनिर्देशक ढकालले आर्थिक स्थायित्व, दिगो विकास र समृद्धिको लागि दीर्घकालिक सोचमा आधारित नीति नियम निर्माण गर्दै बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिइएको जानकारी दिए। उनले व्यवसायीहरूको गुनासोलाई सम्बोधन गर्दै भने, “यदि बैंक तथा वित्तीय संस्थासँग कुनै गुनासो छ भने नेपाल राष्ट्र बैंकमा पनि उजुरी गर्न सकिन्छ।”
एफसिए उमेश राज पाण्डेयले आर्थिक चक्रका प्रत्येक चरणमा बैंक र व्यवसायी बीच मतभेद हुन सक्छ, तर यी दुई पक्ष एकअर्काका पूरक हुन् भन्दै, आर्थिक अनुशासन कायम राखेर व्यवसाय सञ्चालन गर्दा दुवै पक्षको सम्बन्ध सुधार हुने बताए।
कैलाली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुष्कर राज ओझाले भने, “बैंकहरू व्यवसायीसँग छलफल गर्न अनिच्छुक छन्, तर कामना सेवा विकास बैंकले यस कार्यक्रमको आयोजना गरेर व्यवसायीलाई साँचो सहकार्यको अवसर दिएकोमा धन्यवाद ज्ञापन गर्दै, नेपाल राष्ट्र बैंक र अन्य बैंकहरूले व्यवसायीलाई राहत दिने योजनामा ध्यान दिनुपर्ने” अनुरोध गरे। उनले थपे, “नियमनकारी निकायका नीतिहरूले व्यवसायीलाई थप आक्रान्त बनाइरहेका छन्, जसका कारण साना र मझौला व्यवसायीहरू व्यवसाय छोड्न सक्ने स्थिति आइरहेको छ, त्यसैले बैंकहरूले तिनलाई संरक्षण गर्नुपर्ने आवश्यकता छ।”
कामना सेवा विकास बैंकका नायव प्रमुख कार्यकारी अधिकृत विनय दाहालले पनि नियमन र वित्तीय अनुशासनको प्रभावलाई स्वीकार गर्दै भने, “पछिल्लो समय व्यवसायीलाई केही असहजता महसुस भएता पनि दीर्घकालिक रूपमा यसले सकारात्मक प्रभाव पार्नेछ। बैंक व्यवसायीका समस्यालाई बुझ्दै आफ्नो कारोबारलाई अघि बढाउन प्रतिबद्ध छ।”
यसअघि, कामना सेवा विकास बैंकले चितवनका व्यवसायीहरूको लागि पनि यस्तै कन्क्लेभ कार्यक्रम आयोजना गरेको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे