काठमाडौं– नेपाल राष्ट्र बैंकले १० ठूला वाणिज्य बैंकको सम्पत्तिको गुणस्तर परीक्षण (लोन पोर्टफोलियो रिभ्यु)का लागि ६ वटा कम्पनीलाई सर्टलिस्ट गरेको छ।
राष्ट्र बैंकले गत आर्थिक वर्षमै प्रक्रिया अगाडि बढाए पनि खरिद नियमावलीको आवश्यक प्रक्रिया पूरा गर्न नसक्दा रद्ध भएको उक्त कार्यलाई पुनः अघि बढाएको हो। हाल सर्टलिस्टमा श्रीलंकाको डिलोइट पार्टनर्स, बंगलादेशको हाउल्याडर युनुस एण्ड कम्पनी, भारतको केपीएमजी एस्योरेन्स एन्ड कन्सल्टिङ सर्भिस, भारत-नेपालको संयुक्त उपक्रम मेहरा–जेकेएसएस–एसएसबीडीआई, भारतको एमएसकेए एण्ड एसोसिएट, तथा भारत-नेपालको संयुक्त उपक्रम एसआरबीए एण्ड बीके अग्रवाल एण्ड कम्पनी परेका छन्।
राष्ट्र बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमास (चैत मसान्त) को कर्जा तथा निक्षेपको तथ्यांकका आधारमा लोन पोर्टफोलियो रिभ्यु गर्नुपर्ने बैंकहरूको सूची तयार गर्नेछ। यस प्रक्रियाअन्तर्गत ९ वटा बैंकको छनोट स्पष्ट भए पनि १०औं बैंक कुन हुने भन्ने विषय चैत मसान्तपछि टुंगो लाग्ने राष्ट्र बैंकका प्रवक्ता रामु पौडेलले बताएका छन्।
सरकारले अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF) सँग विस्तारित कर्जा सुविधा (ECF) अन्तर्गत गरेको सम्झौतामा १० ठूला वाणिज्य बैंकको सम्पत्तिको गुणस्तर परीक्षण गर्ने शर्त समेटिएको थियो। उक्त कार्यान्वयनमा ढिलाइ भएको भन्दै IMF ले यसबारे चासो व्यक्त गर्दै आएको छ। राष्ट्र बैंकले सर्टलिस्टमा परेका कम्पनीहरूमध्ये एकलाई छनोट गरी उक्त जिम्मेवारी दिने योजना बनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे