
वीरेन्द्रनगर । सर्वोच्च अदालतकी न्यायाधीश तथा केन्द्रीय न्याय क्षेत्र समन्वय समितिकी सदस्य शारङ्गा सुवेदीले नागरिकलाई न्यायको अनुभूति दिलाउने दायित्व राज्यको भएको बताएकी छन्। उनले न्याय ढिलो उपलब्ध गराउनु भनेको न्याय नदिनुजस्तै हुने उल्लेख गर्दै राज्यका सेवा प्रदायक निकायहरू समन्वयात्मक रूपमा कार्यसम्पादन गर्नुपर्नेमा जोड दिएकी छन्।
मङ्गलबार वीरेन्द्रनगर सुर्खेतमा सर्वोच्च अदालतद्वारा आयोजित ‘उच्च अदालत सुर्खेतमा सञ्चालित जिल्ला तथा उच्च अदालत न्याय क्षेत्र समन्वय समितिको काम कारबाहीको प्रभावकारितामाः केन्द्रीय न्याय क्षेत्र समन्वय समितिको भूमिका’ विषयक अन्तर्क्रिया कार्यक्रममा उनले न्याय सम्पादन प्रक्रियामा रहेका कमजोरीहरू सुधार गर्नुपर्ने आवश्यकता औंल्याएकी थिइन्।
न्यायाधीश सुवेदीले अपराध अनुसन्धान तथा अभियोजन प्रक्रियामा संवेदनशीलता आवश्यक रहेको उल्लेख गर्दै अनुसन्धानका क्रममा प्रमाणहरू सत्यतथ्यमा आधारित हुनुपर्नेमा जोड दिइन्। उनले व्यक्तिहरूलाई थुनामा राख्दा त्यसको औचित्यता स्पष्ट हुनुपर्ने बताउँदै आरोप लगाउने वित्तिकै कसैको आत्मसम्मानलाई नोक्सान पुर्याउने कार्य गर्नु नहुने धारणा राखिन्।
कार्यक्रममा उच्च अदालत न्याय क्षेत्र समन्वय समितिका अध्यक्ष तथा उच्च अदालत सुर्खेतका कायममुकायम न्यायाधीश कृष्णलाल भट्टराईले फौजदारी अपराधसम्बन्धी घटनामा निष्पक्ष अनुसन्धानको आवश्यकता रहेको बताए। उनले सर्वसाधारण नागरिकलाई न्यायमा पहुँच सुनिश्चित गर्न राज्यले जिम्मेवारीपूर्वक काम गर्नुपर्ने तथा लगत फछ्र्योट समितिलाई सक्रिय बनाउनुपर्ने आवश्यकता औंल्याए।
त्यस्तै, जिल्ला अदालत सुर्खेतका न्यायाधीश दीपक ढकालले न्यायिक कार्य सम्पादनमा केवल निर्णय मात्र पर्याप्त नहुने भन्दै नागरिकलाई न्यायको वास्तविक अनुभूति गराउने कार्य अपरिहार्य रहेको बताए। उनले फैसला कार्यान्वयनमा अदालत मात्र नभई राज्यका सम्बन्धित संयन्त्रहरू प्रभावकारी रूपमा परिचालित हुनुपर्नेमा जोड दिए।
वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले ढिलो न्यायले नागरिक मात्र नभई सरकारलाई पनि अन्यायमा पार्ने धारणा राखिन्। उनले न्यायिक निरुपण समयमै सम्पन्न भएमा मात्र नागरिकहरूले न्यायको अनुभूति गर्न सक्ने उल्लेख गरिन्।
कार्यक्रममा मालपोत तथा नापी कार्यालयका प्रमुख, सरकारी वकिल, कानूनी व्यवसायी तथा अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे