
काठमाडौं। बागमती प्रदेशमा समस्याग्रस्त सहकारी संस्थाको संख्या बढ्दै गएको छ। प्रदेश सरकारले हालै थप तीन सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरेको छ। योसँगै, बागमती प्रदेशमा समस्याग्रस्त घोषित सहकारी संस्थाको कुल संख्या पाँच पुगेको छ।
प्रदेश सरकारको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयअन्तर्गतको प्रदेश सहकारी रजिष्ट्रार कार्यालयका रजिष्ट्रार राजन पोखरेलका अनुसार, सुमेरू सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ पुलचौक ललितपुर, लालीगुराँस बचत तथा ऋण सहकारी संस्था काठमाडौँ, र नेसनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्था काठमाडौँलाई समस्याग्रस्त घोषणा गरिएको हो। यी संस्थाहरूले वित्तीय दायित्व पूरा नगरेको, बचतकर्ताको रकम फिर्ता नगरेको, र कार्ययोजनाअनुसार काम नगरेको कारणले समस्याग्रस्त घोषित गरिएको रजिष्ट्रार पोखरेलले जानकारी दिएका छन्।
समस्याग्रस्त सहकारी संस्थामा लालीगुराँस र नेसनल नमोबुद्ध सहकारी संस्थामा तालाबन्दी गरिएको छ। यसअघि, प्रदेश सरकारले काठमाडौँको सिभिल सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ र काठमाडौँको कीर्तिपुरस्थित दर्शन बचत तथा ऋण सहकारीलाई पनि समस्याग्रस्त घोषणा गरेको थियो।
बचतकर्ताहरूले पैसा फिर्ता नगरेको भन्दै प्रदेशभरिका एक सय ३७ भन्दा बढी सहकारी संस्थाविरुद्ध उजुरी दर्ता गराएका छन्। रजिष्ट्रार पोखरेलका अनुसार, यसले सम्बन्धित सहकारी संस्थाका सञ्चालकहरूमाथि कारबाही प्रक्रिया अगाडि बढाउन प्रहरी कार्यालयसँग पत्राचार गरिएको छ।
सञ्चालकहरूले बचतकर्तासँग सम्पर्कमा नआएको र रकम फिर्ता नगरेको कारण केही सहकारी संस्थाहरूलाई कारबाहीको सामना गर्नुपर्ने भएको छ। पोखरेलले भने, “संचालकहरूले समाधानको लागि पत्राचार गरे पनि, धेरैजसो सम्पर्कमा आउन चाहँदैनन्।”
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे