
काठमाडौं। कामना सेवा विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ३२ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २४.५५ प्रतिशतले बढी हो। गत वर्ष बैंकले २५ करोड ८९ लाख रुपैयाँ नाफा कमाएको थियो।
बैंकले प्रकाशित गरेको चालु वर्षको अपरिष्कृत वित्तीय विवरणअनुसार वितरणयोग्य नाफामा ११५.२० प्रतिशतको उल्लेखनीय वृद्धि भएको छ। गत वर्षको सोही अवधिमा बैंकले १७ करोड ४५ लाख रुपैयाँ वितरणयोग्य नाफा आर्जन गरेकोमा यो वर्ष ३७ करोड ५५ लाख रुपैयाँ पुगेको छ। वितरणयोग्य नाफाको आधारमा बैंकले सेयरधनीहरूलाई २१.४० प्रतिशत लाभांश वितरण गर्नसक्ने क्षमता राखेको छ।
समीक्षा अवधिमा बैंकले ६१ अर्ब ५ करोड रुपैयाँ निक्षेप संकलन गरी ४८ अर्ब ७८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। यसबाट १ अर्ब ८ करोड रुपैयाँ खुद ब्याज आम्दानी र १ अर्ब ९ करोड रुपैयाँ खुद सञ्चालन मुनाफा आर्जन गरेको छ।
बैंकको प्रमुख वित्तीय सूचकांकअनुसार, चालु वर्षको दोस्रो त्रैमाससम्म बैंकको निष्क्रिय कर्जा अनुपात (एनपीएल) ४.३५ प्रतिशत, क्यापिटल फन्ड १२.५९ प्रतिशत, कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) ५.९९ प्रतिशत, बेसरेट ७.७२ प्रतिशत, र स्प्रेडरेट ४.५९ प्रतिशत रहेको छ।
साथै, बैंकको प्रतिशेयर आम्दानी १ रुपैयाँ ३७ पैसा, प्रतिशेयर नेटवर्थ १ सय ५७ रुपैयाँ ४६ पैसा, र तरलता अनुपात २२.९३ प्रतिशत कायम भएको छ।
बैंकको वित्तीय प्रदर्शन सुदृढ हुँदै गएको बताइन्छ। प्रमुख कार्यकारी अधिकृत (सिइओ) दिनेश थकालीले २०८० बैशाखमा प्रभु बैंकबाट कामना सेवा विकास बैंकको व्यवस्थापन सम्हालेपछि बैंकले उत्कृष्ट प्रगति गरेको छ। गत वर्षको दोस्रो त्रैमासमा समेत बैंकले राम्रो नाफा आर्जन गर्दै सकारात्मक सुधारको संकेत देखाएको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे