
काठमाडौं, पुस २५ । नेपाल वायुसेवा निगमका समस्या र सुधारका उपायहरूको अध्ययन गर्न शिशिर खनालको संयोजकत्वमा उपसमिति गठन गरिएको छ। बिहीबार सिंहदरबारमा सम्पन्न अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकले खनालको नेतृत्वमा ४ सदस्यीय उपसमिति बनाएको हो। यस उपसमितिमा खनालसहित छिरिङ ल्हामु लामा, योगश गौचन थकाली, र सुनिता बराल रहेका छन्। समितिले नेपाल वायुसेवा निगमको समस्या र सुधारका उपाय अध्ययन गरी एक महिनाभित्र प्रतिवेदन प्रस्तुत गर्ने निर्णय गरेको छ।
समितिले संस्कृति, पर्यटन र नागरिक उड्डयनका क्षेत्रमा समग्र नीतिगत र संरचनागत सुधारका लागि कार्ययोजना तयार गर्ने निर्देशन दिएको छ। साथै, नेपालमा जातीय र धार्मिक संग्रहालयहरूको निर्माणलाई तीव्रता दिन र पर्यटन प्रवर्धनमा जोड दिन पनि निर्देशन दिइएको छ। पुरातात्विक उत्खननको कार्यलाई मितव्ययी र परिणाममुखी बनाउने र भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलहरूको सञ्चालनलाई सुनिश्चित गर्न आवश्यक पहल गर्न निर्देशन दिइएको छ।
अन्ततः, वायुसेवा निगमको व्यवसायिक योजनालाई कार्यान्वयन गर्दै, राष्ट्रिय महत्त्वका निर्माणाधीन निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको कामलाई शीघ्र अघि बढाउन सरकारलाई निर्देशन दिइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे